२०८३, भाद्र १३ गते

images
  • समाचार
  • २५० रुपैयाँको सामान लिएका उपभोक्ताले पाए...

२५० रुपैयाँको सामान लिएका उपभोक्ताले पाए १० लाखको उपहार

२५० रुपैयाँको सामान लिएका उपभोक्ताले पाए १० लाखको उपहार

images
शुक्रवार, श्रावण २२ २०८३१०:०७
शुक्रवार, श्रावण २२ २०८३१०:०७
  • काठमाडौँ । आन्तरिक राजस्व विभागद्वारा सञ्चालित ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’अन्तर्गत साउन महिनाको पहिलो १५ दिनको १० लाख रुपैयाँको बम्पर उपहार एक सर्वसाधारण उपभोक्ताले जितेका छन्। केवल २५० रुपैयाँको सामान खरिद गरी नियमानुसार बिल प्राप्त गरेका ती उपभोक्ता विभागले शुक्रबार आयोजना गरेको पहिलो चरणको लकी ड्र (गोलाप्रथा) मार्फत १० लाख रुपैयाँ नगद पुरस्कारका लागि चयन भएका हुन्।

    विभागका अनुसार ती भाग्यशाली उपभोक्ताले शिव कृष्ण जेनरल स्टोरबाट २५० रुपैयाँ बराबरको वस्तु खरिद गरी विद्युतीय माध्यमबाट भुक्तानी गरेका थिए। खरिदका क्रममा प्राप्त प्यानरभ्याट बिलका आधारमा उनी स्वतः प्रणालीमा सहभागी भएका हुन्। ती उपभोक्ताले साउन ७ गते उक्त रुपैयाँको सामग्री खरिद गरेको पाइएको छ । ती उपभोक्ताको पहिचान आन्तरिक राजश्व विभागले गर्नेछ । 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चालू आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत घोषणा गरेको यस कार्यक्रमअन्तर्गत साउन १ देखि १५ गतेसम्म अनलाइन वा क्युआर कोडमार्फत कारोबार गर्ने तथा नगदमा खरिद गरी विभागको वेबसाइटमा बिल अपलोड गर्ने हजारौँ उपभोक्ताहरू प्रतिस्पर्धामा सामेल थिए।

    करदाता प्रोत्साहन योजनाको पहिलो ड्र आजः १५ जनालाई १ लाख, एक जनालाई १० लाख नगद उपहार करदाता प्रोत्साहन योजनाको पहिलो ड्र आजः १५ जनालाई १ लाख, एक जनालाई १० लाख नगद उपहार

    शुक्रबार घोषित नतिजाअनुसार १० लाख रुपैयाँको बम्पर उपहारका अतिरिक्त सोही अवधिभित्रका हरेक दिनका आधारमा अन्य १५ जना उपभोक्ताले पनि १/१ लाख रुपैयाँको नगद उपहार जितेका छन्।

    बम्पर उपहार जित्ने विजेताले नियमानुसार लाग्ने कर कट्टी गरेर बाँकी रकम प्राप्त गर्नेछन्। सानो रकमको खरिदमा पनि उपभोक्ताले ठुलो नगद पुरस्कार जितेपछि विभागले सञ्चालन गरेको यस प्रोत्साहन योजनाप्रति सर्वसाधारणको चासो ह्वात्तै बढेको छ।

    उपभोक्तामाझ अनिवार्य रूपमा पक्का बिल माग्ने बानीको विकास गर्न र डिजिटल भुक्तानीलाई बढावा दिन विभागले स्वीकृत कार्यविधिअनुसार हरेक महिनाको १६ गते र मसान्तका दिन यसैगरी नियमित उपहार घोषणा गर्नेछ। सानो रकमको कारोबारमा पनि बिल माग्दा १० लाखसम्मको पुरस्कार जित्न सकिने यो उदाहरणले उपभोक्तालाई सचेत बनाउनुका साथै अनधिकृत व्यापार नियन्त्रण र राज्यको राजस्व अभिवृद्धिमा उल्लेख्य योगदान पुग्ने विश्वास आन्तरिक राजस्व विभागले लिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend