२०८३, श्रावण २५ गते

images

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटो शो : २०० स्टलमा ५० भन्दा बढी ब्राण्ड, सुस्ताएको अटो बजार चलायमान बनाउने अपेक्षा

स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा नाडा अटो शो : २०० स्टलमा ५० भन्दा बढी ब्राण्ड, सुस्ताएको अटो बजार चलायमान बनाउने अपेक्षा

images
सोमवार, श्रावण २५ २०८३१०:५३
सोमवार, श्रावण २५ २०८३१०:५३
  • काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाली अटोमोबाइल क्षेत्रकै सबैभन्दा ठूलो र बहुप्रतीक्षित मेला ‘एच.पी. प्रेजेन्ट्स् नाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ। नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको अटो शोको १८औँ संस्करण यही भाद्र ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी परिसरमा सञ्चालन हुनेछ।

    नाडाले अटो शो नेपाली अटोमोबाइल बजारका लागि नयाँ उत्पादन, प्रविधि र ब्राण्डबारे जानकारी लिन तथा व्यवसाय विस्तार गर्न महत्वपूर्ण अवसर बन्ने विश्वास व्यक्त गरेको छ। विशेषगरी पछिल्लो समय सुस्ताएको अटो बजारलाई पुनः चलायमान बनाउन मेलाले महत्वपूर्ण भूमिका खेल्ने आयोजकको अपेक्षा छ।

    यस वर्षको नाडा अटो शोमा साना तथा ठूला गरी कुल २०० वटा स्टल रहनेछन्। प्रदर्शनीमा स्वदेशी उत्पादनसँगै विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, पार्टपुर्जा, कम्पोनेन्ट तथा अटोमोबाइलसँग सम्बन्धित सेवा तथा प्रविधि प्रदर्शन गरिनेछ।

    आयोजकका अनुसार मेलामा २२ वटा ब्राण्डका पेसेन्जर कार, १६ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल र १२ वटा ब्राण्डका दुईपाङ्ग्रे सवारी साधन सहभागी हुनेछन्।

    त्यसैगरी, अटो शोमा ८ वटा नेपाली उत्पादकसहित ६९ वटा कम्पोनेन्ट तथा अन्य सरोकारवाला व्यवसायी सहभागी हुँदैछन्। उनीहरूले आफ्ना उत्पादन, प्रविधि र सेवाहरू उपभोक्ता तथा व्यवसायीसमक्ष प्रत्यक्ष रूपमा प्रस्तुत गर्नेछन्।

    स्टलका लागि व्यवसायीको उच्च माग

    नाडा अटो शोप्रति देशभरका अटोमोबाइल व्यवसायीको आकर्षण बढेको आयोजकले जनाएको छ। स्टलका लागि हालसम्म पनि अत्यधिक माग आइरहेको भए पनि भृकुटीमण्डप प्रदर्शनी परिसरमा पर्याप्त ठाउँको अभावका कारण इच्छुक सबै व्यवसायीलाई स्टल उपलब्ध गराउन कठिनाइ भइरहेको नाडाको भनाइ छ।

    नाडाका अनुसार अटो शोमा स्वदेशी उत्पादनदेखि विश्वका विभिन्न प्रतिष्ठित ब्राण्डसम्मको सहभागिता रहने भएकाले यसले नेपाली उपभोक्तालाई एउटै स्थानबाट विभिन्न प्रकारका सवारी साधन, पार्टपुर्जा, प्रविधि र सेवाबारे जानकारी लिने अवसर प्रदान गर्नेछ।

    सुस्ताएको बजारमा नयाँ ऊर्जा दिने अपेक्षा

    पछिल्लो समय विभिन्न कारणले अटोमोबाइल बजारमा देखिएको सुस्तताका बीच आयोजना हुन लागेको नाडा अटो शो २०२६ लाई व्यवसायीहरूले विशेष महत्वका साथ हेरेका छन्।

    मेलामा नयाँ तथा आकर्षक मोडल, विद्युतीय सवारी साधन, लाइट कमर्शियल भेहिकल, दुईपाङ्ग्रे सवारी तथा अटोमोबाइल कम्पोनेन्टको प्रदर्शनीसँगै व्यवसायी र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने भएकाले बजारमा नयाँ माग सिर्जना हुने अपेक्षा गरिएको छ।

    नाडाले अटो शो अटो, आयल तथा पार्टपुर्जा व्यवसायीका लागि व्यावसायिक प्रवर्द्धनको प्रभावकारी प्लेटफर्म बन्ने जनाएको छ। साथै, उपभोक्ताले नयाँ प्रविधि र उत्पादनबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने तथा व्यवसायीले आफ्नो बजार विस्तार गर्ने अवसरसमेत मेलाले प्रदान गर्नेछ।

    नाडाको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा आयोजना हुन लागेको १८औँ संस्करणको अटो शोले नेपाली अटोमोबाइल क्षेत्रको वर्तमान अवस्था, नयाँ प्रविधि र भविष्यको सम्भावनालाई एउटै छानामुनि प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend