काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो संसदीय दलको विधान संशोधन गर्न कार्यदल गठन गरेको छ।
बुधबार बसेको संसदीय दलको बैठकले मुख्य सचेतकको संयोजकत्वमा विधान संशोधन कार्यदल गठन गरेको उपनेता गणेश पराजुलीले जानकारी दिए।
उनका अनुसार कार्यदलले आगामी सात दिनभित्र संसदीय दलको विधानलाई आवश्यकताअनुसार संशोधन गरी कार्यविधि तयार गर्नेछ।
संसद्मा सांसदहरूको मर्यादा कायम गर्ने, उनीहरूको जिम्मेवारीलाई थप स्पष्ट बनाउने, जनपक्षीय आवाजलाई प्रभावकारी रूपमा उठाउने तथा कानुन निर्माण प्रक्रियामा सांसदहरूको भूमिकालाई थप सशक्त बनाउने उद्देश्यले विधान संशोधन गर्न लागिएको पराजुलीले बताए।
कार्यदलले संसदीय दलको प्रभावकारिता बढाउने विषयलाई समेत समेटेर विधान संशोधनको प्रस्ताव तयार गर्नेछ।

