काठमाडौँ । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको तय भएको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ।
लामिछाने यही भदौको पहिलो साता चीन जाने तयारीमा थिए। तर पछिल्लो परिस्थितिका कारण भ्रमण हाललाई रोकिएको र नयाँ मिति तय भइनसकेको स्रोतहरूले बताएका छन्। यद्यपि उनी आगामी असोज अर्थात् मध्य सेप्टेम्बरतिर चीन भ्रमणमा जान सक्ने सम्भावना रहेको बताइएको छ।
यसअघि लामिछाने भदौ ७ देखि १४ गतेसम्म (अगस्ट २३ देखि ३०) चीन भ्रमणमा जाने तयारी थियो। उनले पत्नी निकिता पौड्यालसहित पाँच सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्ने कार्यक्रम तय गरिएको थियो। भ्रमणका क्रममा बेइजिङ हुँदै तिब्बतस्थित कैलाश मानसरोवर पुग्ने तालिका समेत बनाइएको थियो।
चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ताको कार्यक्रम नरहेको तथा नेपालमा पछिल्लो समय विकसित राजनीतिक परिस्थितिका कारण लामिछानेले तत्कालका लागि भ्रमण स्थगित गरेको स्रोतको भनाइ छ।
लामिछाने निकट एक नेताका अनुसार भ्रमण पूर्ण रूपमा रद्द भने गरिएको छैन। उनका अनुसार सभापति लामिछाने चीन जाने नयाँ मिति भने अहिलेसम्म निश्चित भएको छैन।
यसैबीच, रास्वपाका सांसदहरूको पाँच सदस्यीय टोली भने चीन भ्रमणमा जाने भएको छ। बेइजिङमा आयोजना हुने विकासशील देशका सांसदहरूको आठौँ सेमिनारमा सहभागी हुन टोली भदौ ८ गते चीन जाने कार्यक्रम छ।
सांसद कमल सुवेदीको नेतृत्वमा जाने टोलीमा राष्ट्रिय सभाका सांसद झक्कु सुवेदी र किरणबाबु श्रेष्ठ, प्रतिनिधिसभाका सांसद यज्ञबहादुर बोगटी तथा संघीय संसद्का उपसचिव शारदा भण्डारी सहभागी हुनेछन्। टोलीको चीन भ्रमण सात दिनको हुने जनाइएको छ।

