काठमाडौं । भोटेकोशी हुँदै आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाव बढेपछि काठमाडौं–मुग्लिन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ।
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)का अनुसार त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको हो। बाढीको कटानका कारण सडकको केही भाग भासिएको उनले जानकारी दिइन्।
आइतबार बिहान केहीबेर अवरुद्ध भएको सडक पानीको बहाव केही कम भएपछि सञ्चालनमा आएको थियो। तर, केही समयमै त्रिशूलीमा पुनः बाढीको बहाव बढेपछि सडक पूर्णरूपमा बन्द भएको हो।
सडक अवरुद्ध भएपछि काठमाडौं, मुग्लिन तथा अन्य गन्तव्यतर्फ जाने यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडक पुनः कहिले सञ्चालनमा आउने भन्नेबारे यकिन भइसकेको छैन।

