काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रमा पुगेर स्थलगत निरीक्षण तथा अनुगमन गर्दै उद्धार, राहत, उपचार र पुनर्स्थापनाका लागि सरकारबाट आवश्यक सबै स्रोतसाधन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
शनिबार बिहान नुवाकोटको सदरमुकाम विदुर पुगेका अर्थमन्त्री वाग्लेले नेपाली सेनाको नेतृत्वमा सञ्चालित राहत तथा उद्धार कमाण्ड पोस्टको निरीक्षण गरी उद्धार तथा राहत वितरणको अवस्थाबारे जानकारी लिए । उनले ‘ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ’ भन्दै विपद् प्रतिकार्यमा खटिएका सुरक्षाकर्मी तथा स्थानीय प्रशासनलाई आवश्यक सहयोगका लागि तत्काल जानकारी गराउन आग्रह गरे ।
कमाण्ड पोस्टमा उद्धार कार्यको नेतृत्व गरिरहेका नेपाली सेनाका उपरथी रञ्जित थापाले बाढीमा हराइरहेका व्यक्तिको खोजी तथा उद्धारलाई प्राथमिकतामा राखेर बुधबारदेखि नै निरन्तर काम भइरहेको जानकारी दिए । पछिल्लो समय विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका व्यक्तिको उद्धारलाई उच्च प्राथमिकता दिइएको उनले बताए ।
उद्धारसँगै विस्थापितलाई अस्थायी बसोबास, खाद्यान्नलगायतका राहत सामग्री वितरणको काम पनि तीव्र रूपमा भइरहेको जानकारी दिइएको थियो। बाढी प्रभावित क्षेत्रमा तत्काल बेलिब्रिज निर्माण गर्नुपर्ने आवश्यकता समेत औँल्याइएको थियो।
अर्थमन्त्री वाग्लेले उद्धार, उपचार र पुनर्स्थापनामा सरकारको पूर्ण साथ रहने बताउँदै आवश्यक स्रोतसाधनको अभाव हुन नदिने स्पष्ट पार्नुभयो।
त्यसपछि उनले नेपाली सेनाको गौथली ब्यारेकमा रहेको हवाई उद्धार केन्द्र तथा राहत सामग्री सङ्कलन र वितरण केन्द्रको निरीक्षण गरे । त्यहाँ आफन्तजनको खोजीमा पुगेका पीडित परिवारसँग भेट गरी उहाँहरूका समस्या र गुनासोसमेत सुने ।
नुवाकोट तथा रसुवाका विभिन्न जलविद्युत् आयोजनामा परिवारका सदस्य फसेको भन्दै आफन्तहरूले उद्धारका लागि अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए। जवाफमा मन्त्री वाग्लेले सुरुङमा फसेका नागरिकको उद्धारलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिँदै नेपाली सेना तथा अन्य सुरक्षा निकायको उद्धार प्रयासप्रति विश्वास गर्न आग्रह गरे ।
अर्थमन्त्री वाग्लेले बाढीबाट ध्वस्त बनेको ढुङ्गे बजार पुगेर उद्धार कार्यको निरीक्षण गरे । उनले पीडित परिवारसँग भेट गरी क्षतिको अवस्था र तत्काल सरकारले गर्नुपर्ने कामबारे सुझाव लिए ।
त्यसपछि ऐतिहासिक देवीघाट बजार पुगेका उनले बाढीले पुर्याएको क्षतिको अवलोकन गर्दै स्थानीयसँग भेटघाट गरे । पीडितलाई सरकार साथमा रहेको विश्वास दिलाउँदै उनले हराएका आफन्तको खोजी, राहत, उपचार तथा पुनर्स्थापनामा सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे ।
मन्त्री वाग्लेले गल्छी–रसुवागढी सडकखण्डअन्तर्गत देवीघाट र जिलिङ जोड्ने क्षतिग्रस्त पक्की पुल क्षेत्रको समेत निरीक्षण गरे । त्यसपछि तल्लो पिपलटारस्थित आयुर्वेदिक केन्द्र तथा चन्द्रज्योति स्कुलमा रहेको होल्डिङ सेन्टर पुगेर उद्धार गरिएका स्थानीयसँग भेट गरे ।
बाढीबाट बग्दै गरेको अवस्थामा उद्धार गरिएका स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उनले थप स्वास्थ्यलाभको कामना गरे । सरकारले उनीहरूको उचित पुनर्स्थापना गर्ने आश्वासन दिँदै स्वास्थ्य उपचारमा खटिएको सशस्त्र प्रहरीको चिकित्सक टोलीसँग पनि आवश्यक औषधि तथा स्रोतसाधनको अवस्थाबारे जानकारी लिए ।
जनप्रतिनिधिलाई आर्थिक स्रोतको चिन्ता नगर्न आग्रह
अर्थमन्त्री वाग्ले र सञ्चारमन्त्री डा. बिक्रम तिमल्सिनाले नुवाकोटका जनप्रतिनिधि तथा राजनीतिक दलका नेताहरूसँग विपद्पछिको उद्धार, राहत, उपचार र पुनर्स्थापनाबारे छलफल गरे ।
जिल्ला समन्वय समितिको हलमा भएको छलफलमा अर्थमन्त्री वाग्लेले केन्द्र सरकारबाट कुनै पनि प्रकारको स्रोतको अभाव हुन नदिने स्पष्ट पारे । उनले आर्थिक स्रोतको अभाव हुन्छ कि भनेर चिन्ता नगरी प्रभावित नागरिकलाई तत्काल आवश्यक पर्ने सेवा तथा राहत उपलब्ध गराउन सबै पक्ष एकजुट भएर काम गर्न आग्रह गरे ।
अन्तिम चरणमा अर्थमन्त्री वाग्ले विदुरस्थित नेपाली सेनाको कमाण्ड सेन्टर पुगेका थिए। त्यहाँ दिनभर भएका उद्धार, राहत तथा पुनर्स्थापनाका कामबारे सुरक्षा ब्रिफिङ लिए ।
ब्रिफिङमा गृहमन्त्री सुदन गुरुङ, सञ्चारमन्त्री बिक्रम तिमल्सिना तथा नेपाली सेनाका उच्च अधिकारीहरूले पछिल्लो अवस्थाबारे जानकारी गराएका थिए। ब्रिफिङअनुसार अहिले जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ भने नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले मृतकको शव सङ्कलन, खोजी तथा राहत वितरणलाई तीव्र बनाएको छ।

