२०८३, आश्विन १९ गते

images
  • कर्पोरेट
  • शारदा ग्रुपद्वारा बाढी प्रभावितका लागि १...

शारदा ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग घोषणा

शारदा ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख सहयोग घोषणा

सोमवार, भाद्र १५ २०८३०५:१६
सोमवार, भाद्र १५ २०८३०५:१६
  • images

    काठमाडौँ । भोटेकोशी नदी क्षेत्रमा गएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि शारदा ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ।

    बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोटलगायत जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले उक्त सहयोग गरिएको ग्रुपले जनाएको छ।

    शारदा ग्रुपका अध्यक्ष शिवरतन शारदाले अर्थमन्त्रीको कार्यालयमा पुगेर सहयोग रकम अर्थमन्त्रीलाई हस्तान्तरण गरेका हुन्। ग्रुपले आर्थिक सहयोगसँगै तत्कालीन राहत तथा मानवीय सहयोगका कार्यक्रमसमेत अघि बढाएको जनाएको छ।

    उक्त रकम शारदा ग्रुपअन्तर्गतका विभिन्न कम्पनीले उपलब्ध गराएका हुन्। जसअनुसार पशुपति खाद्य तेल उद्योग प्रालिले ६१ लाख, पशुपति सिनप्याक इन्डस्ट्रिज प्रालिले १५ लाख, प्रिमियर वायर्स प्रालिले १५ लाख र प्रिमियर डिस्टिलरी लिमिटेडले १० लाख रुपैयाँ सहयोग गरेका छन्।

    ६० लाख बराबरको खाद्य सामग्री सहयोग

    शारदा ग्रुपले आर्थिक सहयोगबाहेक विपद् प्रभावितका लागि करिब ६० लाख रुपैयाँ बराबरका खाद्य तथा पेय पदार्थ नेपाल सरकारलाई उपलब्ध गराएको छ। गुडलाइफ र रमपम चाउचाउ, गुडलाइफ बिस्कुट तथा जुसलगायत सामग्री प्रभावित तथा तत्काल सहयोग आवश्यक रहेका समुदायमा वितरण गरिने जनाएको छ।

    त्यस्तै, प्रभावित जिल्लामा राहत तथा उद्धार कार्यलाई सहयोग पुर्‍याउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निःशुल्क अक्सिजन उपलब्ध गराउने घोषणा पनि ग्रुपले गरेको छ।

    शारदा ग्रुपद्वारा प्रवर्द्धित शिवम् होल्डिङ्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा थप २१ लाख रुपैयाँ सहयोग गरेको छ।

    यसैगरी, शिवम् सिमेन्ट लिमिटेडले बाढीपहिरोबाट प्रभावित एउटा गाउँको पुनर्निर्माण तथा पुनःस्थापनाका लागि ११ हजार बोरा सिमेन्ट उपलब्ध गराउने घोषणा गरेको छ।

    विपद्का कारण घाइते भएकाहरूका लागि आवश्यक रगतको अभाव हुन नदिन शारदा ग्रुपले काठमाडौं र विराटनगरमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको जनाएको छ। यसबाट रक्त बैंक तथा जारी उद्धार र राहत कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

    ग्रुपका अध्यक्ष शिवरतन शारदाले विपद्मा परी परिवार तथा आफन्त गुमाएका नागरिकप्रति गहिरो समवेदना व्यक्त गर्दै कठिन परिस्थितिमा प्रभावित समुदायसँग उभिनु आफ्नो जिम्मेवारी भएको बताए।

    उनले राहत तथा तत्कालीन सहयोगमार्फत आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्नुका साथै सरकारका उद्धार, राहत तथा पुनर्निर्माणका प्रयासमा योगदान पुर्‍याउने उद्देश्य रहेको बताए।

    शारदा ग्रुपले विपद् प्रभावित नागरिक तथा परिवारप्रति समवेदना व्यक्त गर्दै राहत तथा उद्धारमा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक र सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ। साथै, आगामी दिनमा आवश्यकता र परिस्थितिअनुसार राहत, उद्धार तथा पुनर्निर्माणका कार्यमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend