काठमाडौँ । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा कार्यरत तीनवटै कम्पनीले भदौ १० गते आएको अभूतपूर्व बाढीबाट प्रभावित कामदार तथा कर्मचारीका परिवारका लागि राहत प्याकेज तयार गर्ने भएका छन् ।
नेपाल वाटर एन्ड इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी (एनडब्लुइडिसी) तथा आयोजनाका ठेकेदार र सब–कन्ट्र्याक्टर कम्पनीहरूले प्रभावित परिवारको आधारभूत जीवनयापनमा सहयोग पुग्ने गरी राहत प्याकेज तयार गरिरहेका हुन् ।
बाढीपछि तत्काल राहत घोषणा गर्न ढिलाइ भएको जनाउँदै कम्पनीले खोज तथा उद्धार कार्यलाई पहिलो प्राथमिकतामा राखेर सुरक्षा निकायसँग आवश्यक समन्वय र सहयोग गर्दै आएका कारण राहत प्याकेज घोषणा प्रक्रिया केही पर सरेको जनाएको छ ।
आयोजनाका अनुसार बाढी आएको समयमा विभिन्न स्थलमा करिब १ हजार ४३३ जना कामदार तथा कर्मचारी कार्यरत थिए । शनिबारसम्म ८७६ जनाको उद्धार भइसकेको छ भने ५५७ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ ।
भदौ २० गते शनिबार आयोजनास्थलमध्येको एक स्थानबाट एक जना चिनियाँ कामदारको उद्धार भएपछि भग्नावशेषमा अझै फसिरहेका सम्भावित व्यक्तिको खोजी तथा उद्धारका लागि सुरक्षा निकायलाई सहयोग थप सुदृढ गरिएको एनडब्लुइडिसीले जनाएको छ ।
कम्पनीले बाढीका समयमा आयोजनाका विभिन्न स्थलमा कार्यरत सबै व्यक्ति तथा कर्मचारीको विवरण संकलन गरिरहेको छ । उनीहरूको अवस्थाबारे यकिन जानकारी प्राप्त भएपछि सम्बन्धित परिवारलाई आधिकारिक रूपमा जानकारी गराइने बताइएको छ ।
आयोजनामा इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) ठेकेदार दुसान एनरबिलिटी तथा सब–कन्ट्र्याक्टर पावर कन्स्ट्रक्सन कर्पोरेसन चाइना र एन्र्डीच हाइड्रोमार्फत ठूलो संख्यामा कामदार कार्यरत थिए । ती कम्पनीहरूले पनि आफ्ना कामदार तथा कर्मचारीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त गर्न खोज तथा उद्धारलाई निरन्तरता दिइरहेका छन् ।
विभिन्न स्रोत तथा सरकारी निकायबाट प्राप्त सूचनाको आधिकारिक पुष्टि भएपछि मात्रै सम्बन्धित परिवारलाई जानकारी गराइने कम्पनीहरूले बताएका छन् ।
एनडब्लुइडिसीले बाढीबाट प्रभावित कामदार, कर्मचारी तथा उनीहरूका परिवारले भोग्नुपरेको पीडा र अन्यौलप्रति संवेदनशील रहेको जनाएको छ । कम्पनीले जारी खोज तथा उद्धार कार्यमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै विपत्तिमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
कम्पनीले घटनाको निरन्तर अनुगमन गर्दै कामदार तथा कर्मचारीको अवस्थाबारे प्राप्त अद्यावधिक जानकारी आफ्नो वेबसाइटमार्फत सार्वजनिक गर्ने जनाएको छ ।

