काठमाडौँ । कुमारी बैंक लिमिटेडले वित्तीय गतिविधिबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा व्यवस्थापनसम्बन्धी विश्वव्यापी पहल ‘पार्टनरसीप फर कार्बन अकाउन्टिङ फाइनान्सियल्स’ (PCAF) मा आबद्ध भएको छ ।
PCAF मा आबद्ध भएसँगै बैंकले आफ्ना ऋण तथा लगानीबाट हुने हरितगृह ग्यास उत्सर्जन मापन तथा सार्वजनिक खुलासा गर्न अन्तर्राष्ट्रियस्तरमा मान्यता प्राप्त मापदण्ड तथा विधि प्रयोग गर्ने जनाएको छ । बैंकका अनुसार यसले जलवायु सम्बन्धी तथ्यांक, जोखिम व्यवस्थापन तथा दिगो वित्तसम्बन्धी अभ्यासलाई थप सुदृढ बनाउन सहयोग पुग्नेछ ।
न्यून–कार्बन तथा जलवायु–उत्थानशील अर्थतन्त्रतर्फको संक्रमणमा वित्तीय क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले PCAF मा आबद्ध भएर आफ्नो लगानी गतिविधिको जलवायु प्रभाव बुझ्ने क्षमता अभिवृद्धि गर्ने बैंकले जनाएको छ । प्राप्त तथ्यांक तथा जानकारीलाई भविष्यका वित्तीय निर्णय, जोखिम व्यवस्थापन र दिगोपनसम्बन्धी रणनीति निर्माणमा उपयोग गरिने बैंकको भनाइ छ ।
कुमारी बैंकका सस्टेनेबल बैंकिङ विभाग प्रमुख अर्पण पौडेलले PCAF मा आबद्ध हुनु बैंकको दिगोपन यात्राको महत्वपूर्ण कोशेढुंगा भएको बताए ।
“हाम्रो वित्तीय गतिविधिसँग सम्बन्धित उत्सर्जनलाई बुझ्नाले जलवायु रणनीति सुदृढ गर्न, पारदर्शिता बढाउन र उत्थानशील तथा दिगो अर्थतन्त्रतर्फ अघि बढ्न तथ्यमा आधारित निर्णय लिन सहयोग पुग्नेछ,” उनले भने ।
PCAF वित्तीय संस्थाहरूको विश्वव्यापी सहकार्य हो, जसले ऋण तथा लगानीमार्फत हुने हरितगृह ग्यास उत्सर्जनको एकरूप मूल्यांकन तथा खुलासाका लागि साझा ढाँचा प्रदान गर्छ । सन् २०१९ को सेप्टेम्बरमा स्थापना भएको यस पहलमा हाल ७०० भन्दा बढी वित्तीय संस्था आबद्ध भइसकेका छन् ।
PCAF मा सहभागी वित्तीय संस्थाहरूले आफ्ना ऋण तथा लगानीसँग सम्बन्धित उत्सर्जन मापन तथा सार्वजनिक खुलासा गर्न साझा मापदण्ड र कार्यविधि प्रयोग गर्दै आएका छन् ।
कुमारी बैंकले PCAF मा आबद्धतालाई आफ्नो व्यापक दिगोपन यात्राको महत्वपूर्ण हिस्सा भएको जनाएको छ । बैंकले आगामी दिनमा दिगो वित्तका अवसर विस्तार गर्नुका साथै आफ्ना सञ्चालन तथा वित्तीय गतिविधिमा वातावरणीय तथा जलवायु सम्बन्धी पक्षलाई थप एकीकृत गर्ने जनाएको छ ।
नेपालका दीर्घकालीन जलवायु तथा विकास प्राथमिकतामा योगदान पुर्याउन सरोकारवालासँग सहकार्य गर्दै जाने बैंकको भनाइ छ ।
देशभर २७९ शाखा, २९६ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १ हजार २३३ पीओएस टर्मिनलमार्फत सेवा दिइरहेको बैंकले जनाएको छ । बैंकले डिजिटल तथा मोबाइल बैंकिङलगायतका सेवासमेत सञ्चालन गर्दै आएको छ ।
जिम्मेवार बैंकिङ, दिगो वित्त र ग्राहककेन्द्रित नवप्रवर्तनमा केन्द्रित हुँदै नेपालको दीर्घकालीन आर्थिक रूपान्तरणमा योगदान पुर्याउने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

