२०८३, आश्विन १९ गते

images

सरकारले खोल्यो यात्रुबाहक सार्वजनिक सवारीको दर्ता, उपत्यकामा सीमित अनुमति

सरकारले खोल्यो यात्रुबाहक सार्वजनिक सवारीको दर्ता, उपत्यकामा सीमित अनुमति

बुधवार, भाद्र ३१ २०८३११:०२
बुधवार, भाद्र ३१ २०८३११:०२
  • images

    काठमाडौं । सरकारले विभिन्न चरणमा सार्वजनिक सवारीसाधनको दर्ता खुला गर्ने क्रममा यात्रुबाहक सार्वजनिक सवारीको दर्ता पनि खुला गरेको छ। यातायात व्यवस्था विभागले असोज १ गतेदेखि लागू हुने गरी केही सर्तसहित यात्रुबाहक सार्वजनिक सवारीसाधनको दर्ता खुला गरेको हो।

    विभागले मंगलबार जारी गरेको सूचनामार्फत सातै प्रदेशका यातायात मन्त्रालय तथा सबै स्थानीय तहलाई यात्रुबाहक सार्वजनिक सवारीको दर्ता खुला गरिएको जानकारी गराएको छ।

    विभागका अनुसार काठमाडौं उपत्यकाबाहेकका क्षेत्रमा विद्युतीय तथा आईसीई (डिजेल) दुवै प्रकारका यात्रुबाहक सार्वजनिक सवारी दर्ता गर्न सकिनेछ। यद्यपि, सार्वजनिक यातायातमा विद्युतीय सवारीलाई प्राथमिकता दिन विभागले आग्रह गरेको छ।

    तर, काठमाडौं उपत्यकाभित्र भने सबै प्रकारका नयाँ सार्वजनिक सवारीको दर्ता खुला गरिएको छैन। उपत्यकामा हाललाई स्कुल बस र सट्टाभर्ना हुने सवारीसाधनको मात्रै दर्ता गर्न सकिने व्यवस्था गरिएको विभागले जनाएको छ।

    उपत्यकाभित्रको रुट तथा सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन सार्वजनिक सवारीको दर्तामा लगाइएको रोक अन्य सवारीका हकमा कायमै राखिएको विभागको भनाइ छ।

    यसअघि विभागले जेठ ७ गतेदेखि देशभर सार्वजनिक सवारीसाधनको दर्ता रोकेको थियो। सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा वायु प्रदूषण, सवारी चाप तथा ट्राफिक जाम बढेको र आवागमनमा कठिनाइ उत्पन्न भएको भन्दै विभागले दर्ता रोक्ने निर्णय गरेको थियो।

    दर्ता रोकिएपछि विभागले आवश्यकताअनुसार चरणबद्ध रूपमा विभिन्न प्रकारका सार्वजनिक सवारीको दर्ता खुलाउँदै आएको छ। पहिलो चरणमा असार ८ गतेसम्म एलसी खोलेर प्रक्रिया अघि बढिसकेका तथा नेपाल भित्रिसकेका सार्वजनिक सवारीको दर्ता खुलाइएको थियो।

    त्यसपछि साउन १८ गतेदेखि मालबाहक सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको थियो।

    यही क्रममा तेस्रो चरणमा असोज १ गतेदेखि यात्रुबाहक सार्वजनिक सवारीको दर्ता खोलिएको विभागले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend