२०८३, आश्विन १९ गते

images

भारी वर्षाको जोखिमपछि बुटवल र मकवानपुरमा विद्यालय बन्द, बढाईयो उच्च सतर्कता

भारी वर्षाको जोखिमपछि बुटवल र मकवानपुरमा विद्यालय बन्द, बढाईयो उच्च सतर्कता

बिहिवार, आश्विन ८ २०८३१०:२४
बिहिवार, आश्विन ८ २०८३१०:२४
  • images

    काठमाडौँ । सम्भावित भारी वर्षा, बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै बुटवल उपमहानगरपालिका र मकवानपुरका विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। मौसम पूर्वानुमानअनुसार असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना रहेकाले जोखिम न्यूनीकरणका लागि स्थानीय तहहरूले यस्तो निर्णय गरेका हुन्।

    बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा पठनपाठन स्थगन गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाको शिक्षा शाखाले जारी गरेको सूचनाअनुसार असोज ८ गते दिवा सत्रका कक्षा बन्द रहनेछन्। यस्तै, असोज ९ गते बिहानी र दिवा दुवै सत्रका कक्षा सञ्चालन हुने छैनन्।

    उपमहानगरपालिकाले बाढी तथा प्राकृतिक विपद्को जोखिमयुक्त समयमा बालबालिकालाई सुरक्षित राख्न अभिभावक तथा विद्यालय परिवारलाई आग्रह गरेको छ। खोला किनार तथा अन्य जोखिमपूर्ण क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउनसमेत आग्रह गरिएको छ।

    यस्तै, मकवानपुरका राक्सिराङ र इन्द्रसरोवर गाउँपालिकाले सम्भावित बाढीपहिरोको जोखिमलाई मध्यनजर गर्दै बिहीबार र शुक्रबार दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेका छन्।

    राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लका अनुसार विकट क्षेत्रका विद्यार्थी तथा शिक्षकहरू विभिन्न खहरे र खोला तरेर विद्यालय आउनुपर्ने भएकाले जोखिम न्यूनीकरणका लागि विद्यालय बन्द गरिएको हो।

    इन्द्रसरोवर गाउँपालिकाले पनि बिहीबार र शुक्रबार पालिकाभरका विद्यालय बन्द गर्ने सार्वजनिक सूचना जारी गरेको छ। गाउँपालिकाका अध्यक्ष डिके पुडासैनीका अनुसार विद्यार्थी तथा शिक्षकहरू खोल्सी, खहरे र खोला तरेर विद्यालय आउनुपर्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै दुई दिन विद्यालय बन्द गरिएको हो।

    मकवानपुरमा सुरक्षा सतर्कता उच्च

    असोज ९ देखि ११ गतेसम्म तीन दिन भारी वर्षा हुने पूर्वानुमानपछि मकवानपुरमा सुरक्षा सतर्कता उच्च बनाइएको छ। अत्यधिक वर्षाका कारण बाढी, पहिरो, डुबान तथा सडक अवरुद्ध हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै जिल्लाका सुरक्षा निकायसहित जोखिमयुक्त क्षेत्रमा कार्यरत सबै निकायलाई उच्च सतर्क अवस्थामा राखिएको छ।

    भारी वर्षाको सम्भावनासँगै मकवानपुरमा कुलेखानी जलाशयको अवस्थालाई समेत प्राथमिकताका साथ निगरानी गर्न थालिएको छ। लगातारको वर्षाका कारण जलाशयमा पानीको सतह तीव्र रूपमा बढ्न सक्ने भएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि प्रारम्भिक तयारी थालिएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले बताए।

    उनका अनुसार कुलेखानी जलाशय भरिन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यक परे पानीलाई एकैपटक ठूलो परिमाणमा छोड्नुपर्ने अवस्था नआओस् भन्ने गरी क्रमशः पानी व्यवस्थापन गर्ने तयारी भइरहेको छ।

    जलाशयको पानीको सतह, वर्षाको अवस्था तथा तल्लो तटीय क्षेत्रमा पर्न सक्ने सम्भावित प्रभावबारे निरन्तर निगरानी गर्ने तयारी गरिएको प्रशासनले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend