२०८३, आश्विन २० गते

images

मलेसियामा बढ्यो कामदारको तलब, नेपालीले अब ५३ हजार रुपैयाँ पाउने

मलेसियामा बढ्यो कामदारको तलब, नेपालीले अब ५३ हजार रुपैयाँ पाउने

शनिवार, कार्तिक ३ २०८१११:१४
शनिवार, कार्तिक ३ २०८१११:१४
  • images

    काठमाडौं । मलेसियाको सरकारले कामदारको तलब बढाएको छ । त्यहाँको सरकारले सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाउँदै १७ सय रिंगेट अर्थात् करिब ५३ हजार नेपाली रुपैयाँ दिने घोषणा गरेको छ ।

    सन् २०२५ को बजेट भाषणमा सरकारले कामदारको तलब प्रतिमहिना १५०० बाट बढाएर १७०० मलेसियन रिङ्गेट पुर्‍याउने घोषणा गरेको हो ।

    मलेसियाका प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इव्राहिमले शुक्रबार संसद्मा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै श्रमिकको न्यूनतम तलब बढाएको घोषणा गरेका हुन् ।

    मलेसियाले आफ्ना नागरिक र आप्रवासी श्रमिकबीच न्यूनतम तलब समानरूपमा लागू गर्दै आइरहेको छ । मलेसियाले देशगतको आधारमा तलबमा विभेद गर्ने गरेको छैन । यो बढेको तलब आउँदो फेब्रुअरी १ देखि लागू हुनेछ । तर, पाँचभन्दा कम कामदार भएका रोजगारदाताहरूका लागि नयाँ न्यूनतम तलब आगामी १ अगस्टदेखि लागू हुनेछ ।

    मलेसियामा अहिले कामदारको न्यूनतम तलब १५ सय रिंगेट अर्थात् ४७ हजार नेपाली रुपैयाँ छ । यो तलब २०२२ मार्च १९ देखि लागू भएको हो ।

    नयाँ तलब कार्यान्वयन हुनुअघि त्यहाँको मान संशाधन मन्त्रालयले सबै क्षेत्रका लागि तलब निर्देशिका तयार गरी प्रकाशित गर्नेछ । त्यसैले नयाँ तलब कार्यान्वयनमा केही ढिला हुने भएको हो ।

    मलेसियाले न्यूनतम बढाएलगत्तै नेपाली श्रमिकको न्यूनतम तलब पनि दुई सय रिंगेटले बढेको हो । वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकले पाउने सबैभन्दा बढी न्यूनतम तलब मलेसिया बनेको छ ।

    खाडीमा कतारले मात्रै एक हजार रियाल अर्तात् ३४ हजार नेपाली रुपैयाँ निर्धारण गरेको छ । साउदी अरब, यूएई, कुवेतलगायत देशले न्यूनतम तलब तोकेको छैन ।

    मलेसियामा तीन लाख ९९ हजार ६ सय १४ जना नेपाली श्रमिक कार्यरत छन् । जसमा महिलाको संख्या १० हजार ९ सय ५७ जना छ । यो संख्या मलेसियामा कार्यरत विदेशी आप्रवासीको तेस्रोमा नेपाली श्रमिकको उपस्थिति हो । पहिलोमा बंगलादेशी र दोस्रोमा इण्डोनेसियाली छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend