२०८३, आश्विन १९ गते

images
  • उर्जा
  • बाढीपहिरोले विद्युत् क्षेत्रमा ठूलो क्षति, १...

बाढीपहिरोले विद्युत् क्षेत्रमा ठूलो क्षति, १ हजार २९२ मेगावाट क्षमताका आयोजना प्रभावित

बाढीपहिरोले विद्युत् क्षेत्रमा ठूलो क्षति, १ हजार २९२ मेगावाट क्षमताका आयोजना प्रभावित

सोमवार, आश्विन १२ २०८३०४:१७
सोमवार, आश्विन १२ २०८३०४:१७
  • images

    काठमाडौं । अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण देशका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा वितरण प्रणालीमा ठूलो क्षति पुगेको छ। नेपाल विद्युुत प्राधिकरणले सोमबार हालैको बाढीपहिरोबाट विद्युतीय संरचनामा पुगेको क्षतिलगायतका समसामयिक विषयमा जानकारी दिन आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले सो कुराको जानकारी दिए । 

    उनका अनुसार बाढीका कारण विभिन्न क्षेत्रमा गरी १ हजार २९२ मेगावाट क्षमताका विद्युत् आयोजना प्रभावित भएका छन्।

    प्राधिकरणका अनुसार असोज ९ गतेदेखि परेको अविरल वर्षाका कारण विभिन्न विद्युतीय संरचनामा क्षति पुगेको हो। बाढीका कारण आकस्मिक रूपमा बन्द गरिएका केही उत्पादन केन्द्र पुनः सञ्चालनमा आएका छन् भने प्रसारण तथा वितरण संरचनामा क्षति पुगेका कारण केही आयोजना अझै प्रणालीबाट बाहिर छन्।

    प्राधिकरणले वर्षा रोकिएसँगै अधिकांश स्थानमा वितरण प्रणाली सञ्चालनमा ल्याइएको जनाएको छ। बाँकी प्रभावित क्षेत्रमा समेत विद्युत् सेवा सुचारु गर्न प्राविधिक टोलीलाई कार्यक्षेत्रमा परिचालन गरिएको छ।

    २३० मेगावाटका आयोजना अझै प्रणालीबाट बाहिर

    प्राधिकरणका अनुसार हाल ८ वटा विद्युत् आयोजना गरी कुल २३० मेगावाट उत्पादन प्रणालीबाट बाहिर रहेको छ। यस्तै, कुस्मा–दाना प्रसारण लाइनमा क्षति पुग्दा ७ वटा जलविद्युत् आयोजनाको १९० मेगावाट क्षमता प्रभावित भएको छ।

    सेती–मादी करिडोरमा बाढीका कारण अवरुद्ध २६२ मेगावाट क्षमताका आयोजना पुनः सञ्चालनमा आएका छन् भने मर्स्याङ्दी करिडोरमा प्रभावित १९० मेगावाट क्षमताका आयोजना पनि सञ्चालनमा फर्किएका छन्। बाढीका कारण बन्द रहेको १४४ मेगावाट क्षमताको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना समेत सञ्चालनमा ल्याउने तयारी गरिएको प्राधिकरणले जनाएको छ।

    राहुघाट आयोजनामा करिब १० दिन लाग्ने

    बाढीका कारण राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ। टर्बाइन फ्लोरमा पानी पसेकाले सफाइपछि आयोजना सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने प्राधिकरणले जनाएको छ। आयोजनाको स्विचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको छ।

    त्यस्तै, कालीगण्डकी करिडोरअन्तर्गतको २२० केभी दाना–कुस्मा प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्रभावित क्षेत्रमा सडक अवरुद्ध रहेकाले थप क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी रहेको प्राधिकरणले जनाएको छ।

    केही जिल्लामा विद्युत् सेवा अझै प्रभावित

    वर्षाका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पाका विभिन्न क्षेत्रमा विद्युत् सेवा प्रभावित भएको थियो। तीमध्ये म्याग्दी, बागलुङ, तनहुँ र रुकुम पूर्वमा सेवा सुचारु भइसकेको छ। मुस्ताङ, प्युठान र रोल्पामा आज अपराह्नसम्म तथा मनाङमा भोलिसम्म विद्युत् सेवा सुचारु गर्ने प्राधिकरणको योजना छ।

    भोटेकोशी–त्रिशूली क्षेत्रमा ४३० मेगावाट प्रणालीबाट बाहिर

    यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण माथिल्लो त्रिशूली–३बीको २२० केभी हबमा क्षति पुगेको तथा विभिन्न जलविद्युत् आयोजनामा क्षति हुँदा ४३० मेगावाट विद्युत् प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ।

    यस क्षेत्रमा प्राधिकरण तथा उसका सहायक कम्पनीतर्फ प्रारम्भिक अनुमानअनुसार करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति पुगेको उल्लेख छ।

    सुख्खायाममा २ हजार ३७२ मेगावाट विद्युत् उपलब्ध गराउने योजना

    यसैबीच, प्राधिकरणले आगामी सुख्खायाममा विद्युत् माग–आपूर्ति सन्तुलनका लागि आयातमा समेत निर्भर हुने योजना बनाएको छ। प्राधिकरणको अनुमानअनुसार सुख्खायाममा आन्तरिक उत्पादनबाट १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुनेछ।

    माग धान्न ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट गरी कुल १ हजार १५४ मेगावाट विद्युत् आयात गर्ने योजना छ। यसबाट सुख्खायाममा कुल विद्युत् उपलब्धता २ हजार ३७२ मेगावाटभन्दा बढी पुग्ने प्राधिकरणको अनुमान छ।

    प्राधिकरणका अनुसार अघिल्लो आर्थिक वर्ष २०८२/८३ मा राष्ट्रिय विद्युत् मागको उच्चतम स्तर २ हजार २९२ मेगावाट पुगेको थियो। आगामी सुख्खायाममा माग–आपूर्ति व्यवस्थापनका लागि आन्तरिक उत्पादनसँगै भारतबाट हुने विद्युत् आयातलाई समेत महत्वपूर्ण आधार बनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend