काठमाडौँ । सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई प्रहरीले गिरफ्तार नगरेको, सुरक्षा खतरा देखिएपछि सुरक्षाका लागि प्रहरी कार्यालय लगिएको स्पष्टीकरण दिएको छ।
मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले राणालाई पक्राउ गरिएको नभई सुरक्षाका लागि प्रहरी कार्यालयमा राखिएको बताएका हुन्।
उनका अनुसार राणाको सुरक्षामाथि खतरा रहेको भन्दै परिवारकै तर्फबाट प्रहरीमा निवेदन दिइएको थियो। सोही आधारमा सुरक्षाको व्यवस्थापन गरिएको सरकारको भनाइ छ।
“उहाँलाई सुरक्षा थ्रेटका कारण प्रहरी कार्यालयमा लगिएको हो। सुरक्षा थ्रेटबारे उहाँको परिवारबाटै दिइएको निवेदन सार्वजनिक भइसकेको छ। उहाँलाई गिरफ्तार गरिएको होइन,” प्रवक्ता पोखरेलले भने।
राणालाई ‘जेनजी’ समूहबाट खतरा रहेको भन्ने चर्चा भने सत्य नभएको सरकारले जनाएको छ। प्रवक्ता पोखरेलले राणामाथिको खतरा अज्ञात समूहबाट रहेको दाबी गर्दै “जेनजीबाट थ्रेट भन्ने कुरा हल्ला मात्रै हो” भने।
यसअघि राणालाई प्रहरीले मध्यराति निवासबाट टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। प्रहरीले पनि उनलाई सुरक्षा खतरा देखिएपछि सुरक्षित स्थानमा राखिएको बताउँदै आएको थियो।
राणाका तर्फबाट उनका छोरा सचिन्द्र शमशेर जबराले परिवार तथा आफ्नो जिउज्यानको सुरक्षाको माग गर्दै प्रहरीमा निवेदन दिएको विषयसमेत सार्वजनिक भएको छ।

