काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय स्थापना गर्न घर वा जग्गा खरिद गर्ने भएको छ।
पार्टीको बढ्दो साङ्गठनिक आवश्यकता र दीर्घकालीन संस्थागत स्थायित्वलाई ध्यानमा राख्दै हालको अस्थायी व्यवस्थापनलाई प्रतिस्थापन गरी आफ्नै स्वामित्वको स्थायी संरचनामा केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने निर्णय रास्वपाले गरेको हो।
पार्टीको २०८३ असोज १७ गते बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार कार्यालय प्रयोजनका लागि घर वा जग्गा खरिद प्रक्रिया अघि बढाउन लागिएको हो।
रास्वपाले कार्यालय सञ्चालनका लागि उपयुक्त वातावरण भएको, आवागमनका दृष्टिले सहज तथा पर्याप्त भौतिक पूर्वाधार भएको घर वा आवश्यक पूर्वाधार निर्माण गर्न पुग्ने जग्गा खोजेको जनाएको छ।
पार्टीले इच्छुक घरधनी तथा जग्गाधनीलाई सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रस्ताव पेस गर्न अनुरोध गरेको छ। प्रस्ताव पेस गर्ने घरधनी तथा जग्गाधनीले पार्टीले तोकेका सर्त तथा मापदण्ड पूरा गर्नुपर्नेछ।
खरिदसम्बन्धी थप जानकारी तथा आवश्यक सर्त र मापदण्डबारे पार्टीले उपलब्ध गराएको दस्तावेज डाउनलोड गरेर हेर्न सकिने जनाइएको छ।
आफ्नै स्वामित्वमा स्थायी केन्द्रीय कार्यालय निर्माण गर्ने रास्वपाको यो पहललाई पार्टीको संस्थागत संरचना व्यवस्थित बनाउने प्रयासका रूपमा हेरिएको छ।


