२०८३, मंसिर ७ गते

  • विश्व
  • हिमतालबाट एक्कासि ठूलो बाढी आउँदा भुटानको...

हिमतालबाट एक्कासि ठूलो बाढी आउँदा भुटानको सडक बगायो, भारतमा पनि सतर्कता

हिमतालबाट एक्कासि ठूलो बाढी आउँदा भुटानको सडक बगायो, भारतमा पनि सतर्कता

images
शुक्रवार, कार्तिक १३ २०८३०७:४६
शुक्रवार, कार्तिक १३ २०८३०७:४६
  • images

    काठमाडौँ । भुटानको शिंताफू हिमतालबाट अचानक ठूलो परिमाणमा पानी बाहिरिएपछि आएको बाढीले मुख्य सडकको एक खण्ड बगाएको छ । बाढीका कारण दुर्गम लाया क्षेत्र भुटानका अन्य भूभागसँगको सडक सम्पर्कबाट विच्छेद भएको छ ।

    उत्तर भुटानको गासा जिल्लामा रहेको शिंताफू तालबाट आएको बाढीको पानी राति करिब ८ः१५ बजे ताक्तसेमाखाङ क्षेत्रमा पुगेको थियो । बाढीले लाया जोखाङ सडकको एक खण्डमा क्षति पुर्‍याएपछि अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

    बाढीको जोखिमलाई मध्यनजर गर्दै भुटानी अधिकारीहरूले जोखिमयुक्त क्षेत्रमा खटिएका सुरक्षाकर्मी तथा अन्य व्यक्तिलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् । सम्भावित जोखिमबाट जोगिन आवश्यक सावधानीका उपाय अपनाउनुका साथै आसपासका क्षेत्रलाई समेत सतर्क गराइएको छ ।

    घटनामा हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन । यद्यपि, रातिको समय र अँध्यारोका कारण तालबाट बाहिरिएको पानीको वास्तविक परिमाण तथा बाढीले पुर्‍याएको क्षतिको पूर्ण विवरण संकलन हुन सकेको छैन । प्रारम्भिक विवरणले बाढीको प्रभाव ठूलो हुन सक्ने संकेत गरेका छन् ।

    यस घटनापछि भारतको पश्चिम बंगालमा समेत सतर्कता बढाइएको छ । पश्चिम बंगालका वनमन्त्री मनोज कुमार ओरांवले संकोश नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम हुन सक्ने भन्दै नदी किनारका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेका छन् ।

    उनले प्रशासन तथा सम्बन्धित अधिकारीलाई जोखिमयुक्त क्षेत्रका बासिन्दासँग निरन्तर सम्पर्कमा रहन र आवश्यक परे उनीहरूलाई सुरक्षित स्थानमा सार्ने व्यवस्था मिलाउन निर्देशन दिएको *द स्टेट्सम्यान*ले जनाएको छ ।

    भुटानको हिमतालबाट आएको बाढीले सडक पूर्वाधारमा क्षति पुर्‍याएसँगै यसको प्रभाव सीमावर्ती भारतीय क्षेत्रमा समेत पर्न सक्ने आशंकामा दुवै क्षेत्रमा सतर्कता अपनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend