काठमाडौँ । नेपाल र जापानबीच स्वास्थ्य क्षेत्रमा सहकार्य तथा सहयोग विस्तार गर्ने विषयमा छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि जापानी राजदूत माएदा तोरुबीच बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको सम्बन्ध र स्वास्थ्य क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको हो।
भेटका क्रममा मन्त्री मेहताले भोटेकोशी बाढीबाट प्रभावित रसुवालगायतका जिल्लामा जापान सरकारले उपलब्ध गराएको राहत, प्राविधिक उपकरण तथा प्रविधिसम्बन्धी सहयोगप्रति धन्यवाद व्यक्त गरिन्।
उनले वीर अस्पताल, परोपकार तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पताललगायतका स्वास्थ्य संस्थामा जापानले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरिन्।
भेटमा नेपाल र जापानबीचको घनिष्ठ सम्बन्ध, आपसी सहकार्य तथा नेपालको स्वास्थ्य क्षेत्रमा सहयोग विस्तार गर्न सकिने सम्भावित क्षेत्रबारे समेत छलफल भएको थियो।
सो अवसरमा जापानी राजदूत माएदा तोरुले नेपाल सरकारका प्राथमिकता र आवश्यकताका आधारमा जापान सरकार सहयोग गर्न तयार रहेको बताए।
उनले दुई देशबीचको सम्बन्ध र सहकार्यलाई आगामी दिनमा थप सुदृढ बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे।

