२०८३, मंसिर ७ गते

  • राजनीति
  • क्षतिग्रस्त खुलामञ्चको हरियाली फर्काउँदै कांग्रेस, ३०...

क्षतिग्रस्त खुलामञ्चको हरियाली फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा ल्याउने लक्ष्य

क्षतिग्रस्त खुलामञ्चको हरियाली फर्काउँदै कांग्रेस, ३० दिनभित्र पुरानै अवस्थामा ल्याउने लक्ष्य

images
आइतवार, कार्तिक २९ २०८३१०:४०
आइतवार, कार्तिक २९ २०८३१०:४०
  • images

    काठमाडौं । नेपाली कांग्रेसले १५औँ महाधिवेशनका क्रममा क्षति पुगेको काठमाडौंको ऐतिहासिक टुँडिखेलस्थित खुलामञ्चको हरियाली र सौन्दर्य पुनःस्थापना गर्न थालेको छ। महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत, अस्थायी संरचना निर्माण र मानिसको ठूलो चहलपहलका कारण बिग्रिएको दुबो पुनःरोपण तथा संरक्षणका लागि पार्टीका नेता–कार्यकर्ता आफैँ मैदानमा उत्रिएका छन्।

    आइतबार कांग्रेसका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा स्थानीय नेता–कार्यकर्ता खुलामञ्च पुगेर क्षतिग्रस्त क्षेत्रमा दुबो रोप्ने काममा सहभागी भए। पुनःरोपणका लागि चितवनबाट दुबो ल्याइएको पार्टीले जनाएको छ। कांग्रेसका अनुसार पछिल्लो एक महिनादेखि खुलामञ्चमा नियमित सिँचाइ, मलखाद तथा मर्मतसम्भारको कामसमेत भइरहेको छ।

    महाधिवेशनका क्रममा खुलामञ्चमा क्षति पुगेपछि सार्वजनिक सम्पत्तिको संरक्षण र क्षतिको जिम्मेवारी कसले लिने भन्ने विषयमा आलोचना भएको थियो। कार्यक्रमअघि नै प्रयोगपछि खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउने प्रतिबद्धता जनाएको कांग्रेसले सोहीअनुसार पुनःस्थापनाको काम अघि बढाएको हो।

    khulamanch3.jpeg

    काठमाडौँ महानगरपालिका–काठमाडौं महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो जिम्मेवारीका रूपमा लिएको बताए। उनका अनुसार दुई दिनसम्म परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण अनुमान गरेभन्दा बढी क्षति पुगेको थियो।

    “महाधिवेशन स्थलका रूपमा हामीले खुलामञ्च प्रयोग गर्दा वर्षाका कारण अनुमान गरेभन्दा केही बढी क्षति भएको छ। दुई दिन परेको भीषण वर्षा र हजारौँ मानिसको आवतजावतका कारण दुबो बिग्रिएको हो। त्यसलाई पुरानै अवस्थामा फर्काउनु हाम्रो जिम्मेवारी हो,” वैद्यले भने।

    उनले खुलामञ्च कुनै राजनीतिक दल वा सरकारको मात्र नभई समग्र नेपालीको साझा सम्पत्ति भएकाले यसको संरक्षण सबैको दायित्व भएको बताए। सार्वजनिक सम्पत्तिको संरक्षण राजनीतिक मुद्दा मात्र नभई राजनीतिक दलको नैतिक जिम्मेवारीसमेत भएको उनको भनाइ छ।

    कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले टुँडिखेलको ऐतिहासिक पहिचान, प्राकृतिक सौन्दर्य र महत्व जोगाउनु पार्टीको पनि दायित्व भएको बताइन्। महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावतबाट क्षति पुगेको देखेपछि त्यसलाई सुधार्न पार्टी आफैँ सक्रिय भएको उनले बताइन्।

    “यो ऐतिहासिक धरोहर हो। काठमाडौंको मुटुमा रहेको टुँडिखेलको आफ्नै महत्व छ। यसको अस्तित्व र सौन्दर्य जोगाउनु हाम्रो पनि कर्तव्य हो। कसैले भनेर मात्र होइन, आफ्नो जिम्मेवारी सम्झेर हामी यहाँ आएका हौँ,” गौतमले भनिन्।

    प्रधानमन्त्रीले महाधिवेशनपछि सामाजिक सञ्जालमार्फत टुँडिखेलमा पुगेको क्षतिबारे टिप्पणी गर्नुभएको प्रसङ्गमा गौतमले पुनःस्थापना अभियान त्यसबाट प्रभावित नभएको स्पष्ट पारिन्। उनका अनुसार खुलामञ्चको संरक्षण पार्टीले आफ्नै जिम्मेवारी ठानेर काम अघि बढाएको हो।

    khulamanch2.jpeg

    कांग्रेसका केन्द्रीय सदस्य जनक चट्टौतले महाधिवेशनका क्रममा अस्थायी संरचना निर्माण तथा ठूला सवारीसाधनको आवतजावतले दुबोलगायतका संरचनामा क्षति पुगेको बताए। महानगरपालिकाबाट क्षतिको विषय उठेपछि पार्टीले पुनःस्थापनाको प्रतिबद्धता जनाएको र सोहीअनुसार काम भइरहेको उनले जानकारी दिए।

    त्यस्तै, केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले सार्वजनिक स्थलमा पुगेको क्षति सुधार गर्नु आयोजकको दायित्व भएको बताए। क्षतिग्रस्त दुबोलाई प्राकृतिक रूपमै पुनर्जीवित गर्ने उद्देश्यले चितवनबाट दुबो ल्याएर रोप्ने काम भइरहेको उनले बताए।

    केन्द्रीय सदस्य सीता मिजारले महाधिवेशनका क्रममा भएको क्षतिको परिपूर्ति गर्ने प्रतिबद्धताअनुसार पार्टीले काम गरिरहेको बताइन्। राष्ट्रिय सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले कांग्रेस आफैँ दुबो रोप्ने अभियानमा जुटेको उनको भनाइ छ।

    ३० दिनभित्र पुरानै अवस्थामा फर्काउने लक्ष्य

    खुलामञ्चको दुबो पुनःरोपण तथा मर्मतसम्भारको प्राविधिक जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्सका थमन भूसालका अनुसार अहिले प्रारम्भिक चरणको रोपण कार्य भइरहेको छ।

    रोपिएको दुबोलाई आवश्यकताअनुसार थिच्ने, माटो मिलाउने, खनजोत गर्ने तथा नियमित सिँचाइ र मलखादको व्यवस्था गरेर पुनःस्थापनाको काम पूरा गरिनेछ।

    भूसालका अनुसार अहिलेको मौसममा दुबोलाई पूर्ण रूपमा स्थापित गरी खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन कम्तीमा ३० दिन लाग्ने अनुमान छ। काम सम्पन्न भएपछि पुनःस्थापनामा लागेको वास्तविक लागत विवरणसमेत तयार गरिने उनले बताए।

    khulamanch1.jpeg

    खुलामञ्च सर्वसाधारणका लागि खुला हुनुपर्ने आवाज

    दुबो पुनःरोपणसँगै कांग्रेसका नेताहरूले खुलामञ्चको दीर्घकालीन संरक्षण र सर्वसाधारणको पहुँचको विषयसमेत उठाएका छन्।

    महानगर सभापति वैद्यले खुलामञ्चलाई घेराबन्दी गरेर सर्वसाधारणको पहुँच सीमित गर्नु यसको मूल मर्मविपरीत हुने बताए। विगतमा खुलामञ्चका सटर हटाउने, टुँडिखेल खुला गर्ने तथा भूमिगत पार्किङ निर्माण गर्ने योजनाविरुद्ध आफूहरूले आन्दोलन गरेको उनले स्मरण गरे।

    “खुलामञ्चको आत्मा भनेको नागरिकले स्वतन्त्र रूपमा उपयोग गर्न पाउनु हो। यसलाई जेलजस्तो बन्द गरेर सर्वसाधारणलाई प्रवेश निषेध गर्नु यसको मर्म होइन,” उनले भने।

    खुलामञ्च काठमाडौंको ऐतिहासिक पहिचानसँग जोडिएको सार्वजनिक स्थल भएकाले यसको संरक्षणसँगै नागरिकको सहज पहुँच सुनिश्चित गर्नुपर्नेमा कांग्रेसका नेताहरूले जोड दिएका छन्।

    सार्वजनिक स्थलमा फोहोर नगर्ने, हरियाली नष्ट हुन नदिने र साझा सम्पत्तिको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्ने उनीहरूको भनाइ छ।

    राजनीतिक दलका ठूला कार्यक्रमपछि सार्वजनिक सम्पत्तिमा पुग्ने क्षतिको जिम्मेवारी आयोजकले लिनुपर्ने बहस भइरहेका बेला कांग्रेसले थालेको पुनःस्थापना अभियानलाई सार्वजनिक सम्पत्तिप्रतिको जवाफदेहितासँग जोडेर हेरिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend