काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आगामी मंसिर ६ र ७ गते भारतको दुईदिने राजकीय भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री शाहको भारत भ्रमणको औपचारिक कार्यक्रम सार्वजनिक गरेको हो। मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते आइतबार दिउँसो १ः४५ बजे नेपाल वायुसेवाको उडानबाट नयाँ दिल्ली प्रस्थान गर्नेछन्। उनी मंसिर ७ गते साँझ ६ः३५ बजे नेपाल एयरलाइन्सकै नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम छ।
३४ सदस्यीय सरकारी टोली, ५२ व्यवसायी पनि सहभागी
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाहलगायत उच्चपदस्थ अधिकारी सहभागी हुनेछन्।
मन्त्रालयका अनुसार नेपालबाट प्रस्थान गर्ने सरकारी भ्रमण टोली ३४ सदस्यीय हुनेछ। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका राजदूतसहित केही सदस्य पनि टोलीमा थपिनेछन्।
त्यस्तै, निजी क्षेत्रबाट ५२ सदस्यीय उद्योगी व्यवसायीको टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछ। भ्रमणको समाचार संकलनका लागि विभिन्न सञ्चारमाध्यमका पत्रकार पनि निजी खर्चमै भारत जाने मन्त्रालयले जनाएको छ।
मोदीसँग द्विपक्षीय वार्ता र परियोजनाको उद्घाटन
भ्रमणको पहिलो दिन मंसिर ६ गते भारतीय विदेशमन्त्री डा. एस. जयशङ्करले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ।
भ्रमणको दोस्रो दिन मंसिर ७ गते प्रधानमन्त्री शाहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नेछन्। वार्ताका क्रममा नेपाल–भारतबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसँग सम्बन्धित विभिन्न परियोजनाको उद्घाटन र नयाँ परियोजनाको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।
द्विपक्षीय वार्तापछि दुवै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनमार्फत छलफलका विषय र उपलब्धिबारे जानकारी दिनेछन्।
सोही दिन भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाह र उनको प्रतिनिधिमण्डलको सम्मानमा आयोजना गर्ने औपचारिक दिवाभोजमा पनि उनी सहभागी हुनेछन्। प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत रहेको छ।
यसैगरी, प्रधानमन्त्री शाहले नयाँ दिल्लीस्थित राजघाट पुगेर महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन्।
व्यापार, ऊर्जा र पूर्वाधार सहकार्य प्राथमिकतामा
परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री शाहको भ्रमणका क्रममा नेपाल र भारतबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रमा आर्थिक सहकार्य विस्तार गर्ने विषयमा व्यापक छलफल हुनेछ।
भ्रमणका क्रममा शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधनलगायतका क्षेत्रमा सहकार्य गर्ने विषय समेटिएका विभिन्न समझदारीपत्र आदानप्रदान गर्ने कार्यक्रम पनि रहेको छ।
मन्त्रालयले यी समझदारीबाट दुवै देशका प्राथमिकताप्राप्त क्षेत्रमा आपसी सहयोग र साझेदारी थप विस्तार हुने विश्वास व्यक्त गरेको छ।
भारतीय लगानी आकर्षित गर्न बिजनेस फोरम
प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा ‘नेपाल–इन्डिया बिजनेस फोरम’ पनि आयोजना हुनेछ। उक्त कार्यक्रममा प्रधानमन्त्री शाहले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गर्नेछन्।
कार्यक्रममा भारतीय लगानीकर्ताका चासो र सरोकार सुन्नुका साथै नेपाल सरकारले लगानी आकर्षित गर्न अवलम्बन गरेका नीतिगत व्यवस्था र प्रयासबारे जानकारी गराइनेछ।
नेपाली तथा भारतीय व्यवसायीबीच व्यावसायिक सम्बन्ध विस्तार, लगानीका अवसर पहिचान र सहकार्यका नयाँ सम्भावना खोज्न फोरम महत्त्वपूर्ण हुने अपेक्षा गरिएको छ।
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री शाहको भ्रमणले नेपाल–भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक साझेदारीमा नयाँ गति दिने विश्वास व्यक्त गरेको छ।
मन्त्रालयका अनुसार भ्रमणबाट नागरिकले प्रत्यक्ष अनुभूति गर्न सक्ने ठोस उपलब्धि हासिल गर्ने लक्ष्य राखिएको छ। दुई देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको घनिष्ठ सम्बन्धलाई थप उचाइमा पुर्याउन उच्चस्तरीय भ्रमण महत्त्वपूर्ण हुने मन्त्रालयको भनाइ छ।

