काठमाडौं । हिमताल विस्फोटबाट आएको बाढी (GLOF) का कारण घर तथा घरभित्रका सम्पूर्ण सामग्री गुमाएका नुवाकोटका प्रभावित परिवारलाई टाटा समूह र सिप्रदियन सहायता संस्थाले २ हजार थान स्टिल दराज हस्तान्तरण गरेका छन्।
‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम २०२६’ अन्तर्गत टाटा समूह र सिप्रदियन सहायता संस्था (SSS) को सहकार्यमा प्रभावित परिवारलाई उक्त सामग्री हस्तान्तरण गरिएको हो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) का प्रमुख कार्यकारी अधिकृत डा. धर्मराज उप्रेती तथा नेपाल सरकारको मार्गदर्शनमा सञ्चालित यस कार्यक्रमले विपद्बाट प्रभावित परिवारको तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुर्याउने लक्ष्य राखेको छ।
घर तथा घरायसी सामग्री गुमाएका परिवारलाई दैनिक जीवनमा आवश्यक वस्तु सुरक्षित राख्न सहज बनाउने उद्देश्यले स्टिल दराज उपलब्ध गराइएको आयोजकले जनाएको छ। यसले प्रभावित परिवारको जीवनलाई सामान्य अवस्थामा फर्काउन तथा पुनर्स्थापनाको प्रक्रियामा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
दराज हस्तान्तरण कार्यक्रममा टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमस, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहाल, टाटा सस्टेनेबिलिटी ग्रुपका एभीपी–एसएस श्रीरंग धवले, सिप्रदीका प्रमुख कार्यकारी अधिकृत तथा निर्देशक राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत तथा निर्देशक राजेशप्रसाद गिरी र वरिष्ठ उपाध्यक्ष सौरभ राज थापालियालगायतको उपस्थिति थियो।
त्यस्तै, विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठ, उपप्रमुख प्रभा बोगटी तथा स्थानीय सरोकारवालाहरू पनि कार्यक्रममा सहभागी थिए।
कार्यक्रममा बोल्दै टाटा सन्सका समूह प्रमुख दिगोपना अधिकृत चाको थोमसले विपद् प्रतिकार्य तत्कालीन राहतमा मात्र सीमित हुन नहुने बताए। प्रभावित परिवारको आत्मसम्मान पुनर्स्थापना गर्दै उनीहरूलाई सामान्य जीवनमा फर्काउन र सुरक्षित भविष्य निर्माण गर्न सहयोग गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो।
उनले ‘एक टाटा नेपाल GLOF विपद् प्रतिकार्य कार्यक्रम’ मार्फत टाटा समूह, यसका कर्मचारी तथा सिप्रदी समूह नुवाकोटका प्रभावित नागरिकको पुनर्स्थापनामा निरन्तर साथ दिन प्रतिबद्ध रहेको बताए।
त्यस्तै, सिप्रदियन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भु प्रसाद दाहालले वास्तविक आवश्यकता भएका समुदायसम्म अर्थपूर्ण सहयोग पुर्याउनु संस्थाको मुख्य उद्देश्य रहेको बताए।
विपद्का कारण कठिन परिस्थितिमा रहेका परिवारलाई सहयोग गर्ने तथा विपद् सामना गर्न सक्ने समावेशी समाज निर्माणमा योगदान पुर्याउने प्रतिबद्धता उनले व्यक्त गरे।
टाटा समूह र सिप्रदीको यो पहलले नुवाकोटका GLOF प्रभावित परिवारको घरायसी जीवन पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माण प्रयासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

