२०८३, मंसिर ८ गते

  • विश्व
  • दक्षिण कोरियाको हवाई रक्षा क्षेत्रमा रूसी...

दक्षिण कोरियाको हवाई रक्षा क्षेत्रमा रूसी सैन्य विमान, प्रतिकारमा लडाकू जेट परिचालन

दक्षिण कोरियाको हवाई रक्षा क्षेत्रमा रूसी सैन्य विमान, प्रतिकारमा लडाकू जेट परिचालन

images
मंगलवार, मंसिर ८ २०८३११:३४
मंगलवार, मंसिर ८ २०८३११:३४
  • images

    काठमाडौँ । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन मङ्गलबार लडाकू विमान परिचालन गरेको जनाएको छ । रूसी विमानले कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा रहेको हवाई रक्षा क्षेत्रमा प्रवेश गरे पनि देशको क्षेत्रीय हवाई सीमा भने उल्लङ्घन नगरेको सेनाले स्पष्ट पारेको छ ।

    उल्लेउङ टापुको हवाई क्षेत्र नजिक रूसी विमान उडेपछि सरकारले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो । तर, विमान जोखिम क्षेत्रबाट बाहिरिएपछि तीन मिनेटमै उक्त निर्देशन फिर्ता लिइएको थियो । घटनाबाट टापुमा कुनै ठूलो अवरोध नभएको अधिकारीहरूले बताएका छन् ।

    सेनाका प्रवक्ता जाङ डो–युङले रूसी विमानले यस वर्ष पटक–पटक हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको बताउँदै पछिल्लो घटनाबारे मस्कोसँग विरोध जनाउने तयारी भइरहेको जानकारी दिए । यसपटक कति विमान प्रवेश गरेका थिए भन्ने भने सेनाले खुलाएको छैन ।

    हवाई रक्षा पहिचान क्षेत्र देशको वास्तविक क्षेत्रीय हवाई सीमाभन्दा बाहिरसम्म फैलिएको हुन्छ । यसले विदेशी विमानको पहिचान र निगरानी गरी आवश्यक प्रतिकार्यका लागि सेनालाई समय उपलब्ध गराउँछ ।

    यसअघि सन् २०१९ मा पनि रूसी ए–५० प्रारम्भिक चेतावनी विमानले दक्षिण कोरियाको क्षेत्रीय हवाई सीमा उल्लङ्घन गरेको आरोपमा दक्षिण कोरियाली लडाकू विमानले डोक्डो टापु नजिक चेतावनी गोली चलाएका थिए । मस्कोले भने त्यसबेला आरोप अस्वीकार गरेको थियो ।

    मङ्गलबारको घटना दक्षिण कोरियाले एक साताअघि पनि रूसी विमान हटाउन लडाकू जेट परिचालन गरेको घटनापछि भएको हो । यसैबीच, जापानले पनि आफ्नो दक्षिणपश्चिमी तट नजिक दुई शङ्कास्पद रूसी विमान देखिएको भन्दै मस्कोसँग विरोध जनाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend