काठमाडौँ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयमा आवश्यक कागजात सात दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ।
समितिले जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि सम्बन्धित कागजात उपलब्ध गराउन निर्देशन दिएको हो।
समिति सभापति भरतबहादुर खड्काले ठेक्का रद्दसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र समितिमा पेस गर्न निर्देशन दिएका छन्। कागजात प्राप्त भएपछि अध्ययन गरेर थप छलफल अघि बढाइने उनले बताए।
टेन्डर प्रक्रियाका सबै चरण पूरा भइसकेपछि अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो। उजुरीकर्ताले उक्त निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको दाबी गरेका छन्।
उजुरीपछि समितिले यस विषयमा छलफल सुरु गरेको हो। छलफलका क्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन्।
सुनकोशी–मरिण डाइभर्सन आयोजना मधेश प्रदेशका विभिन्न जिल्लामा सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले अघि बढाइएको राष्ट्रिय गौरवको आयोजना हो। आयोजनामार्फत बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ। यसबाट २८ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासमेत छ।
आयोजनाअन्तर्गत निर्माण भइरहेको १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते सम्पन्न भएको थियो। तर, त्यसपछि आयोजनाको काम अघि बढ्न सकेको छैन।
ठेक्का रद्दको निर्णय र त्यसपछिको प्रक्रियाबारे सार्वजनिक लेखा समितिले कागजात अध्ययन गरेपछि थप निर्णय लिने जनाएको छ।

