काठमाडौं । सामाजिक सञ्जाल प्लेटफर्म टिकटक आधिकारिक रूपमा नेपालमा दर्ता भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव गजेन्द्रकुमार ठाकुरका अनुसार तिहार अघिनै टिकटक नेपालमा दर्ता भएको हो । ठाकुरका अनुसार सामाजिक सञ्जाल व्यवस्थित गर्ने निर्देशिका बमोजिम आधिकारिक रूपमा दर्ता भएको पत्र मंगलबार मात्रै टिकटकको माउ कम्पनी चिनियाँ माउ कम्पनी बाइटड्यान्सलाई उपलब्ध गराइएको हो ।
डिजिटल लिटरेसीमा सहयोग गर्ने तथा पर्यटन प्रवर्द्धनमा समेत सहयोग गर्ने शर्तमा दर्ता भएको हो । टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने सामग्रीहरूमा प्रसारण, डिजिटल साक्षरता, प्रहरी अन्सन्धानमा सहयोग लगायतका प्रतिवद्धता जनाएको छ । सरकारले गत वर्ष फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जाल सूचीकृत नगरे बन्द गर्ने निर्देशिका मन्त्रिपरिषद्बाट पारित गरेको थियो। जसअनुसार सूचना जारी गरेको तीन महिनाभित्र सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो।
२०८० कात्तिक २७ मा नेपालमा टिकटक बन्द गर्ने निर्णय गरिएको थियो। टिकटकले प्रतिबन्ध फुकुवा गर्न बारम्बार अनुरोध गर्दै आएको थियो । गत भदौ ६ गते निर्देशिका बमोजिम आधिकारिक रूपमा दर्ता हुनुपर्ने लगायतका शर्त सहित प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो।
ठाकुरका अनुसार टिकटकले केहि कुरा पुरा पनि गरेको छ भने केहि पुरा गर्दै जानुपर्ने खालका छन् । यसअघि नेपाल प्रहरी र मन्त्रालयका अधिकारीलाई टिकटकले कन्टेन्ट फिल्टरिङ र ग्लोबल कम्युनिटी गाइडलाइनको बारेमा २ ओटा वर्कसप सञ्चालन गरेको थियो ।

