काठमाडौँ । अब आइफोनमा कल रेकर्ड गर्न मिल्नेगरी नयाँ फिचर थपिने भएको छ । आइफोनको नयाँ अपरेटिङ सिस्टम आइओएस १८ मा नयाँ फिचर थप हुने भएको हो ।
आइओएस १८ समर्थन गर्ने आइफोनहरूमा अब कल रेकर्ड र ट्रान्सक्राइभ फिचर उपलब्ध हुने भएको हो । यो फिचर आइफोन १२ र सोभन्दा नयाँ मोडलहरूमा उपलब्ध हुनेछ ।
अन्तर्राष्ट्रिय प्रविधि वेबसाइट द भर्जका अनुसार एप्पलले आइओएस १८ मा कल रेकर्ड र ट्रान्सक्राइभ फिचर उपलब्ध गराउनेबारे सोमबार आयोजित वर्ल्डवाइड डेभलपर्स कन्फरेन्स (डब्लुडिसी)मा घोषणा गरेको हो ।
कल रेकर्डिङ फिचर प्रयोग गर्दा जुन व्यक्तिसँग कलमा भइन्छ, सो व्यक्तिलाई भइरहेको कल रेकर्ड गरिएको भने जानकारी गराइने समेत एप्पलले जनाएको छ ।
अडिओको ट्रान्सक्राइभ अथवा लिखित भने फोनको नोटमा गएर बस्नेछ । कलको ट्रान्सक्राइभ सकेपछि नोट एपबाटै एप्पलको एआई प्रविधिबाट सारांश निकाल्न सकिन्छ ।
अडिओ ट्रान्सक्राइभ अंग्रेजी, स्मानिस, जर्मन, फ्रेन्च, जापानिज, चाइनिज, क्यान्टोनिज र पोर्चुगिस भाषामा हुनेछ समेत एप्पलले जनाएको छ ।
कम्पनीका अनुसार आइओएस १८ मा थप केही फिचरहरू पनि उपलब्ध गराइनेछ । जस्तै, कस्टमाइज गर्न मिल्ने होमपेज, कन्ट्रोल सेन्टरमा केही परिवर्तनहरू र ट्याप रेस्पोन्समा पनि केही सुधार गरिने बताइएको छ ।

