२०८३, आश्विन २० गते

images

नबिल एसएसई तेस्रो वर्षमाः एक सय १७ नयाँ उद्यम स्थापनादेखि १२ सयलाई रोजगारी

नबिल एसएसई तेस्रो वर्षमाः एक सय १७ नयाँ उद्यम स्थापनादेखि १२ सयलाई रोजगारी

सीएनएन खबर
मंगलवार, मंसिर ११ २०८१०५:२३
सीएनएन खबर
मंगलवार, मंसिर ११ २०८१०५:२३
  • images

    काठमाडौँ । नबिल स्कूल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई) ले आफ्नो तेस्रो वार्षिकोत्सव मनाएको छ । २०२१ नोभेम्बर २६ मा स्थापना गरिएको नबिल एसएसई, नबिल बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक उद्यमशीलताको विकासमार्फत सामाजिक रूपान्तरण गर्ने लक्ष्य राखेर अघि बढाइएको कार्यक्रम हो ।

    नबिल बैंकले नबिल एसएसई फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स गरी दुई प्रकारको कार्यक्रम सञ्चालन गर्दै आएको छ । हालसम्म नबिल एसएसई कार्यक्रमबाट ८२० भन्दा बढी व्यक्तिहरूले उद्यमशीलता सम्बन्धी प्रशिक्षण प्राप्त गरिसकेका छन् । त्यस्तै, ११७ नयाँ उद्यमहरूको स्थापना भएको छ । यस कार्यक्रमबाट १२ सय रोजगारी सिर्जना गर्न सफल भएको बैंकले जानकारी दिएको छ ।

    ‘नबिल एसएसईले नवीन सोच भएका व्यक्तिहरूलाई प्रोत्साहन गर्दै देशभित्र नै उद्यम गरी रोजगारी सिर्जना गर्न सफल भएकोमा हामी खुसी छौँ,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले भने । सामाजिक तथा आर्थिक रूपान्तरणमा नबिल एसएसईले गतिशील बनाएको भन्दै उनले भने, ‘तीन वर्षको दौरानमा देशमा सयौँ मानिसहरूका लागि रोजगारी सिर्जना भएको छ भने यसले दीर्घकालीन सामाजिक परिवर्तनमा सहयोग हुनेमा हामी विश्वस्त छौँ ।’ 

    स्थापनाकालदेखि हालसम्म, नबिल एसएसईले देशभरका १२ शैक्षिक संस्थाहरूसँग सहकार्य गर्दै आफ्ना कार्यक्रमहरू सफलतापूर्वक सञ्चालन गरिरहेको छ । त्रिभुवन विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (सोमटियू) सँगको सहकार्यमा सञ्चालित फेलोसिप कार्यक्रमले सामाजिक उद्यमशीलतामा रुचि राख्नेहरूलाई उत्कृष्ट प्लेटफर्म प्रदान गर्दै आएको छ । 

    सहभागीहरूले ६ महिनाको अवधिमा १८ दिनको एक्सन बेस्ड आवासीय तालिम प्राप्त गर्छन्, जसमा एक वर्षसम्मको मेन्टरसिप पनि उपलब्ध गराइएको छ । यस कार्यक्रमले अहिलेसम्म ५६ सामाजिक उद्यमीलाई तालिम दिइसकेको छ, जसबाट पहिलो तीन समूहका ४५ उद्यम सञ्चालन भई सयौंको रोजगारी सिर्जना गर्न सफल भएको नबिल बैंकले जनाएको छ । नबिल एसएसई अन्तर्गत हालै सुरु भएको चौथो ब्याचमा २० जना नयाँ उद्यमीहरूले आफ्नो उद्यमशीलता यात्रा प्रारम्भ गरेका छन् । 

    तीन महिनाको अवधिमा सञ्चालन हुने नबिल एसएसई सर्टिफिकेट कोर्सले प्रशिक्षार्थीलाई सामाजिक उद्यम सञ्चालन र व्यवस्थापनका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्दै आएको छ । यस कोर्सका सहभागीहरूमध्य ७२ जनाले आफ्नो उद्यम स्थापित गरी दिगो सामाजिक परिवर्तनका लागि काम गर्दै आएका छन् । 

    नबिल एसएसईले सामाजिक उद्यमीहरूलाई महत्वपूर्ण सामाजिक समस्याहरू समाधान गर्न सक्षम बनाउँदै, दीर्घकालीन उद्यम स्थापना गर्न प्रेरित गरिरहेको छ । यसले सामाजिक उद्यमका लागि अवधारणा निर्माण, त्यसलाई लगानीयोग्य बनाउने, र साना उद्यमीहरूलाई सशक्त बनाउने कार्यलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको छ ।

    तेस्रो वार्षिक उत्सव मनाउँदै, नबिल एसएसईले चौथो वर्षमा प्रवेश गर्दा सामाजिक उद्यमशीलतालाई अझ विस्तार गर्ने र नेपालका समुदायहरूको उत्थानमा निरन्तर योगदान दिने लक्ष्य राखेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend