काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित ४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले शुक्रबार विशेष अदालतमा गैरकानूनी लाभ तथा हानी पुर्याई भ्रष्टाचार गरेको भन्दै अभियोग पत्र दायर गरेको हो ।
आयोगले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदरश यादव, लेखापाल सुभाष कुमार झा, जिन्सी शाखाका प्रमुख खरिदार उपेन्द्र यादव र मजदूर होजियारी उद्योग, जनकपुरधाम २ का प्रापाइटर राम सुन्दर शाह तेली विरुद्ध मुद्दा दायर गरेको हो ।
उनीहरुले विद्यालय पोशाक खरिद गर्दा भुटट दरभाउ पत्र तयार गरी खरिद मूल्यांक समितिको बैठकबाट मूल्यांकन नै नगरी टिप्पणी आदेश मार्फत खरिद गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार उनीहरुले सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद नियमावली बमोजिम लागत अनुमान तयार गरी कम्तिमा ३ वटा आपूर्तिकर्तासँग लिखित रुपमा दरभाउपत्र माग गरी खरिद मूल्यांकन समितिबाट निर्णय गराउनुपर्नेमा सो नगरी भुट्टो विवरण बुझाएका थिए ।
उनीहरु विरुद्द आयोगले ५ लाख ३४ हजार ७१० रुपैयाँ बिगो कायम गरी मुद्धा दायर गरेको छ ।

