काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई विश्वासको मत नदिने निर्णय गरेको छ । आइतबार बसेको संसदीय दल बैठकले उक्त निर्णय गर्दै प्रधानमन्त्रीबाट प्रचण्डले तत्काल पदबाट राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
‘प्रधानमन्त्रीलाई तत्काल राजीनामा दिन हामीले अपिल गरेका छौं। हाम्रो पहिलो माग प्रधानमन्त्रीले आजै, अहिले भर्खर राजीनामा दिनुपर्छ भन्ने हो,’ प्रमुख सचेतक महेश बर्तौलाले भने, ‘उहाँले राजीनामा दिनु भएन भने असार २८ गते विश्वास मत लिने भन्नुभएको छ। उहाँले राजीनामा नदिए विश्वास मतको विपक्षमा एमालेले मतदान गर्छ ।’
उनले राष्ट्रिय सहमतिको सरकार बनाउनका लागि मार्गप्रशस्न गरिदिन पनि एमालेले माग गरेको बताए ।
एमालेले माओवादी केन्द्रसँगको सत्ता समीकरण तोड्दै नेपाली कांग्रेससँग गठबन्धन गरेको छ । यी प्रमुख दुई दलबीच यही असार १७ गते सत्ता साझेदारीको समझदारी भएको थियो ।
कांग्रेसको कार्यसम्पादन समिति र संसदीय दलको बैठकले एमालेसँग भएको समझदारीलाई अनुमोदन गरिसकेको छ ।

