काठमाडौँ । फागुन महिनाको पहिलो साता बेसीशहरमा प्रथम खेलकुद तथा साँस्कृतिक महोत्सव सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति लमजुङको आयोजनामा आगामी फागुन ५ गतेदेखि १५ गतेसम्म महोत्सव सञ्चालन गर्न लागिएको हो ।
बेसीशहर नगरपालिका ७ सहजी खेल मैदानमा सञ्चालन हुने महोत्सवमा खेल गतिविधि सहित विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने जिल्ला खेलकुद विकास समिति लमजुङका अध्यक्ष योगबहादुर गुरुङले बताए ।
सहजी खेल मैदान विस्तार गर्ने उद्धेश्य सहित पहिलो पटक खेलकुद तथा साँस्कृतिक महोत्सव सञ्चालन गर्न लागिएको गुरुङले बताए । सहजी खेल मैदान प्रयोग गरेर विभिन्न संघ संस्थाहरुले महोत्सव सञ्चालन गर्ने र मुनाफा कमाउने काम मात्रै गरेको हुँदा खेल मैदान विस्तार तथा विकासका निम्ति खेलकुद विकास समिति आँफैले महोत्सव सञ्चालन गर्न लागेको उनले बताए ।
जिल्ला खेलकुद विकास समिति लमजुङको नाउँमा रहेको सहजी खेल मैदान प्रयोग मात्र गर्ने त्यसको विस्तार र विकासमा कुनै पनि निकायको ध्यान नगएको बताउदै, खेलकुद तथा साँस्कृतिक महोत्सव अन्य महोत्सव भन्दा भिन्न तरिकाले सञ्चालन गरिने, विभिन्न खेलकुद प्रतियोगिता सञ्चालन तथा खेलाडीहरुलाई प्रशिक्षण गरिने लगायतका खेलसँग सम्वन्धित गतिविधि सहित सास्कृतिक एवं साँगितिक कार्यक्रम सञ्चालन गर्ने गरि तयारी थालिएको जिल्ला खेलकुद विकास समिति लमजुङले जनाएको छ ।
महोत्सवमा खेल गतिविधिको साथमा लमजुङ जिल्लाको कला, संस्कृतिको संरक्षण, स्थानिय तथा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुती लगायतका कार्यक्रमहरु मुख्य आकर्षणको रुपमा रहने गरि तयारी थालिएको अध्यक्ष गुरुङले बताए । जिल्लामा रहेको सहजी रंगशालालाई प्याराफिट सहित व्यवस्थित रंगशाला बनाउने अभियान स्वरुप महोत्सव आयोजना गर्न लागिएको हुँदा यसलाई सफल पार्न जिल्ला बासी सम्पुर्णलाई साथ र सहयोग गर्न जिल्ला खेलकुद विकास समिति लमजुङले अनुरोध गरेको बताए ।

