२०८३, आश्विन १९ गते

images
  • समाचार
  • कप्तानी खोसिँदा रोहितलाई क्यानको सम्मान :...

कप्तानी खोसिँदा रोहितलाई क्यानको सम्मान : ‘एकपटकको लिडर, सधैँको लिडर’

कप्तानी खोसिँदा रोहितलाई क्यानको सम्मान : ‘एकपटकको लिडर, सधैँको लिडर’

मंगलवार, श्रावण २६ २०८३१०:५४
मंगलवार, श्रावण २६ २०८३१०:५४
  • images

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानी जिम्मेवारीबाट बिदा भएका रोहित पौडेललाई उनको योगदानका लागि धन्यवाद दिँदै भावुक सन्देश दिएको छ।

    क्यानले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत रोहितको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धि र उनले टोलीका लागि पुर्‍याएको योगदानको प्रशंसा गरेको हो। क्यानले रोहितको नेतृत्वमा नेपाली क्रिकेटले हासिल गरेका उपलब्धिहरू नेपाली क्रिकेट यात्राको गौरवशाली हिस्साका रूपमा सधैँ स्मरणीय रहने जनाएको छ।

    Rohit can tweet.png

    ‘धन्यवाद छ रोहित! राष्ट्रको आशालाई अगाडि बढाउने र जोश, समर्पण र दृढ संकल्पका साथ नेपाली क्रिकेटको नेतृत्व गरेकामा,’ क्यानले भनेको छ।

    क्यानले रोहितको नेतृत्वमा पुरुष राष्ट्रिय टोलीले उत्कृष्ट उपलब्धि हासिल गरेको उल्लेख गर्दै कठिन परिस्थितिमा समेत उनले टोली, देश र समर्थकको अपेक्षा पूरा गर्न गरेको प्रयासको प्रशंसा गरेको छ।

    ‘तपाईंको नेतृत्वमा हामीले उत्कृष्ट उपलब्धि हासिल गर्‍यौँ र त्यस्ता पल आए, जुन नेपाल क्रिकेट यात्राको गौरवशाली हिस्साका रूपमा रहनेछन्,’ क्यानले उल्लेख गरेको छ।

    टोली, देश र खेलकुदप्रति रोहितको प्रतिबद्धता आगामी दिनमा पनि प्रेरणादायी रहने क्यानको विश्वास छ। क्यानले रोहितले खेलाडीका रूपमा नेपालको सेवा निरन्तर गरिरहने अपेक्षा पनि व्यक्त गरेको छ।

    क्यानले आफ्नो सन्देशको अन्त्यमा रोहितलाई ‘एकपटकको लिडर, सधैँको लिडर’ भन्दै सम्मान गरेको छ।

    सन्दीपको काँधमा कप्तानीको जिम्मेवारी

    यसअघि सोमबार क्यानले रोहित पौडेलको स्थानमा लेगस्पिनर सन्दीप लामिछानेलाई नेपाली एकदिवसीय क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त गरेको थियो।नेदरल्यान्ड्समा सम्पन्न आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको कमजोर प्रदर्शनपछि क्यानले नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो। नयाँ कप्तान सन्दीपको नेतृत्वमा नेपालले आगामी अगस्ट ३० देखि मलेसियामा हुने एसीसी  प्रिमियर कप खेल्नेछ।

    क्यानले सोमबार नै सन्दीपको कप्तानीमा प्रिमियर कपका लागि नेपाली टोलीसमेत घोषणा गरिसकेको छ।

    सन्दीप करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको कप्तानीमा फर्किएका हुन्। नाबालिगमाथि बलात्कारको आरोप लागेपछि उनलाई २०७९ सालमा कप्तान पदबाट हटाइएको थियो भने राष्ट्रिय टोलीबाट समेत निलम्बन गरिएको थियो। पछि अदालतबाट सफाइ पाएपछि उनी राष्ट्रिय टोलीमा फर्किएका थिए। अहिले क्यानले उनलाई पुनः कप्तानीको जिम्मेवारी दिएको हो।

    प्रिमियर कपका लागि यस्तो छ नेपाली टोली

    सन्दीप लामिछानेको कप्तानीमा घोषणा गरिएको नेपाली टोलीमा आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डेय, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।

    एसीसी प्रिमियर कप भदौ १४ देखि २७ गतेसम्म ९अगस्ट ३० देखि सेप्टेम्बर १२० मलेसियामा आयोजना हुँदैछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend