काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बीत महामन्त्री डा मुकुल ढकालले पार्टीबाट निकालिएपनि घण्टी बज्न नरोकिने बताएका छन् ।
मंगलबार पार्टीले प्रवक्तालगायतको जिम्मेवारीबाट हटाउने निर्णय गरे लगतै ढकालले सामाजिक सञ्जाल मार्फत उक्त प्रतिक्रिया दिएका हुन् ।
आजै (मंगलबार) बिहान बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको साधारण सदस्य मात्र रहनेगरी महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट बर्खास्त गरेको हो
त्यसलगत्तै सामाजिक सञ्जालमार्फत ढकालले रास्वपाबाट निकालिएको नभई रवि लामिछाने क्लबबाट मात्र निकालिएको दाबी गरेका हुन् ।
‘रवि लामिछाने क्लवबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बज्न रोकिँदैन , रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि ....’, उनले फेसबुकमा लेखेका छन् ।
रास्वपाको अनुशासन आयोगले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्न सिफारिस गरे पनि केन्द्रीय समितिले भने साधारण सदस्य कायमै रहने गरी अन्य जिम्मेवारीबाट मात्र हटाएको हो ।

