काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्रीको नियुक्ति गर्ने भएका छन् । उनले नयाँ सरकार गठनका लागि तोकेको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाउने प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज साँझ ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए ।
सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरिसकेका छन् ।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्ने भएका हुन् । त्यस्तै आइतबार समय ढिला हुने भएकाले सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए ।
यी हुन् मन्त्री बन्नेहरु
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै सोमबार बिहान प्रधानमन्त्रीसँगै अन्य मन्त्रीहरुको पनि सपथ हुने भएको छ । कांग्रेस एमाले सहमति अनुसार कांग्रेसले गृहसहित ९ र एमालेले अर्थसहित ८ मन्त्रालय चलाउने समझदारी भएको बताईएको छ ।
दुई ठूला दललाई उक्त सिट छुट्टाएर साना दललाई ४ सांसद बराबर एक मन्त्री दिने सहमती तयार भएको छ । उक्त सहमित अनुसार पहिलो चरणमा एमालेले अर्थ, रक्षा, शिक्षा, सञ्चार र उद्योग मन्त्रालय लिनेछ भने नेपाली कांग्रेसले गृह, परराष्ट्र, पर्यटन, स्वास्थ्य र कृषि मन्त्रालय लिनेछ ।
नेपाली कांग्रेसबाट प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने देउवाको तयारी छ । उनलाई उपप्रधानमन्त्रीको जिम्मेवारीसहित क्याबिनेटमा पठाइनेछ । सिंहले भौतिक पूर्वाधार तथा योजना मन्त्रालय मागेका थिए । तर उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पाउने सम्भावना देखिएको कांग्रेसका एक नेताले बताए ।
गृह मन्त्रालयको जिम्मेवारी कांग्रेसका प्रमुख सचेतक रहेका रमेश लेखकले पाउने लगभग निश्चित छ । त्यस्तै, देउवापत्नी आरजु राणालाई परराष्ट्रमन्त्री बनाउने तयारी छ ।
एमालेबाट उपप्रधानमन्त्रीसहित अर्थको जिम्मेवारी दिएर उपाध्यक्ष विष्णु पौडेललाई सामेल गर्ने ओलीको तयारी छ ।
त्यस्तै, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा योगेश भट्टराईलाई पठाउने ओलीको तयारी भएको एमालेका नेताहरूले बताएका छन् । मन्त्रीपरिषदलाई समावेशी स्वरुप पनि दिन गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई मन्त्री बनाउने तयारी भएको नेताहरूले बताएका छन् ।

