काठमाडौँ । चर्चित शर्ट भिडिओ प्लेटफर्म टिकटक अमेरिकामा डाउन भएको छ । गत वर्ष पारित भएको प्रतिबन्ध सम्बन्धी कानुन कार्यान्वयनमा आएसँगै टिकटक आइतबारदेखि अमेरिकामा बन्द भएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो एप एप्पल र गुगल दुवैको अमेरिकी एप स्टोरबाट हटाइएको छ । वेबमा पनि टिकटकको साइट उपलब्ध नभएको नोटिस देखिन थालेको छ ।
प्रयोगकर्ताहरूले एप खोल्दा भिडिओ हेर्न पाइरहेका छैनन् । टिकटकले दिएको जानकारी अनुसार अमेरिकामा १७ करोड प्रयोगकर्ताहरूले यो एप प्रयोग गरिरहेका थिए । अन्य सामाजिक सञ्जालहरूमा केही समयका लागि अवरोध आउने गरे पनि, टिकटक जस्तो लोकप्रिय एप यसरी बन्द भएको यो पहिलो घटना हो ।
बाइडेन प्रशासनले यसको कार्यान्वयनको जिम्मेवारी ट्रम्प प्रशासनलाई हस्तान्तरण गरेको बताएको छ । टिकटकको भने स्पष्ट आश्वासन नपाएसम्म अमेरिकामा सेवा बन्द गर्नुपर्ने भनाइ छ । कम्पनीले आफ्ना कर्मचारीहरूलाई पठाएको ईमेलमा राष्ट्रपति ट्रम्पले २० जनवरीमा पदभार ग्रहण गरेपछि टिकटकलाई पुनस्स्थापना गर्न सहयोग गर्ने बताएको उल्लेख छ ।

