काठमाडौँ । काठमाडौँ महानगरले स्थापना गरेको श्रम बैंक मार्फत ९ सय ११ जनाले रोजगारी पाएका छन् । महानगरका अनुसार ३२९ जनाले विभिन्न निजी क्षेत्रमा तथा ५८३ जनालाई महानगरका विभिन्न विभागहरूमा रोजगारी दिईएको हो ।
श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएको महानगरले जनाएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार÷स्वरोजगार भएका छन् ।
काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई उक्त कार्यक्रम कार्यान्वयन गरेको थियो । जसअनुसार ३ वर्षमा कम्तिमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि तथा श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो ।
सुरुवाती आर्थिक वर्ष २०८०÷८१ मा सीप मेला २०८१ मार्फत २ हजार ५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १ हजार ४६७ जना र अनलाइनमार्फत २ हजार गरि ६ हजार २२ जनाले तालिम लिएको महानगरका प्रमुख बालेन्द्र शाहले जानकारी दिए ।

