काठमाडौं । ललितपुर महानगरपालिका–१२ स्थित पाटनबाट चार वर्षीय बालक अपहरण गर्ने भियतनामी नागरिक पक्राउ परेका छन् । पाटन दरबार स्क्वायर परिसरबाट गत बिहीवार ४ वर्षीय पल चेपाङ अपहरणमा परेका थिए। उनकी आमाले बालक अपहरणमा परेको भन्दै प्रहरीमा जानकारी गराएकी थिइन्।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार बालक अपहरण गर्ने भियतनामी नागरिक पक्राउ परेका हुन्। २३ वर्षीय भियतनामी नागरिक माई होङ्ग किन्हालनले बालकलाई प्रलोभन दिएर कलंकी पु¥याएर एक होटलमा बन्धक बनाएका थिए।
बालकलाई कलंकीस्थित मेची गेष्ट हाउसबाट उद्धार गरिएको छ। उनको साथमा रहेका विदेशी नागरिकलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार भियतनामी नागरिक पटक–पटक नेपाल आउने र काठमाडौं बस्ने गरेका थिए।
प्रहरीसँगको बयानमा उनले आफू पाटन घुम्न जाँदा बालकलाई भेटेको बताएका छन्। बालकलाई भेट्ने क्रममा उनकी आमाले बच्चालाई अत्यन्त पिट्ने गरेको र आफूलाई माया लागेर लिएर आएको बयान दिएका छन्। प्रहरीका अनुसार ती नागरिकले बालकलाई पन्जाब लैजान लागेको टिकटसमेत फेला पारेको छ।

