काठमाडौँ । बिहीबार रातीदेखि परेको अबिरल वर्षाका कारण ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिकाको पर्खाल भत्काएको छ । पालिकाको वडा नम्बर ५ को तापेथोक सल्लेरी डाडाँँबाट खसेको पहिरोका कारण पालिकाको सभाहलको पछाडीको पर्खाल भत्काएको हो ।
ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यका अनुसार फक्ताङलुङ गाँउपालिका भन्दा ३०० मिटर माथीबाट लेदो सहितको पहिरो झरी फक्ताङलुङ गाँउपालिकाको सभाहलको पछाडी पट्टिको पर्खाल भत्काई सभाहल भित्र लेदो सहितको गेग्राङ पसी भित्र क्षति भएको छ । भौतिक क्षति भएपनि राती पहिरो खस्दा मानविय क्षति नभएको उनले बताए ।
उनका अनुसार पहिरो खसेको जानकारी पाउनासाथ प्रचौ तापेथोकका प्रसनीको कमाण्डमा ३ जनाको टोली घटनास्थल पुगेको थियो ।
सोही पहिरोको कारण तापेथोक स्थित तमोर करीडोर ओलाङचुङगोला जाने सडक अवरुद्ध भएको छ । अहिले रेमिट हाईड्रोको स्काईभेटर बोलाई पहिरो पन्छाउने कार्य भैरहेको उनले बताए ।
यस्तै, उक्त स्थानका ३ वटा विद्युतीय पोल ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध भएको छ ।

पहिरोका कारण पालिकामा ठूलो भौतिक क्षति भएको पालिकाका अध्यक्ष राजन लिम्बुले जानकारी दिए । ‘बाढीले सभाहलका सम्पूर्ण सामग्रीहरु बगायो, एक तल्लो भवन बनाएका थियौँ, पूर्ण रुपमा नै क्षति भयो भन्दा हुन्छ’, उनले भने, ‘पालिकाको सभाहल सँगै एक जना व्यक्तिको एउटा घर भत्काएको छ । हामी अहिले भर भत्किएको ठाउँबाट बाँकी रहेका सामग्रीहरु सुरक्षित स्थानमा सार्ने काम गरिरहेका छाैँ ।’
उनले बाढीले पालिकाका अन्य व्यक्तिको घरमा समेत लेदो पसेको बताए ।

