२०८३, आश्विन २० गते

images
  • खेलकुद
  • अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाल तयार, पहिलो...

अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाल तयार, पहिलो खेलमा किर्गिस्तानसँग भिडन्त आज

अन्तर्राष्ट्रिय महिला फुटबलः नेपाल तयार, पहिलो खेलमा किर्गिस्तानसँग भिडन्त आज

सीएनएन खबर
आइतवार, फाल्गुण ४ २०८१०६:१४
सीएनएन खबर
आइतवार, फाल्गुण ४ २०८१०६:१४
  • images

    काठमाडौं। अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (इन्टरनेशनल वुमन्स च्याम्पियनसिप) आजदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सुरु भएको यो प्रतियोगितामा नेपाल, म्यानमार, लेबनान र किर्गिस्तान बीच प्रतिस्पर्धा हुनेछ ।

    नेपालले आफ्नो पहिलो खेलमा किर्गिस्तानसँग साँझ ६ बजे खेल्नेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच प्रतिस्पर्धा हुनेछ।

    नेपाली महिला फुटबल टोली पूर्ण तयारीमा रहेको मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन्। ‘हामीले सबै तयारी पूरा गरिसकेका छौं। एन्जिला र रेखा आइसकेका छन् भने सावित्रा भण्डारी (साम्बा) पनि टिममा सामेल हुँदैछिन्,’ उनले बताए।
    कप्तान एन्जिला तुम्बापो सुब्बाले टिममा उत्कृष्ट सहकार्य (टिमवर्क) रहेको बताउँदै जितको लागि मैदानमा उच्च प्रदर्शन गर्ने विश्वास व्यक्त गरिन्। उनले भनिन्, ‘हामीले राम्रो तयारी गरेका छौं, तर जित्नको लागि कुरा भन्दा खेलमा प्रमाणित गर्नुपर्छ।’

    किर्गिस्तान सँग नेपालले अन्तिमपटक ६ वर्षअघि ८–२ को शानदार जित हात पारेको थियो। तर प्रशिक्षक तामाङका अनुसार किर्गिस्तानले आफ्नो टिममा ठूलो परिवर्तन गर्दै खेल शैलीमा सुधार ल्याएको छ। ‘उनीहरू विशेष गरी काउन्टर अट्याकमा खतरनाक छन्, त्यसैले हामीले सतर्क रहनुपर्छ,’ उनले भने।

    नेपालले म्यानमार विरुद्ध अहिलेसम्म खेलेका सबै खेल गुमाएको छ, तर लेबनानलाई भने गत वर्षको वाफ च्याम्पियनसिपमा हराएको थियो। म्यानमार प्रतियोगितामा फिफा वरीयतामा सबैभन्दा अगाडि (५५औं स्थान) रहेको छ।

    नेपालले घरेलु मैदान र घरेलु समर्थकको समर्थनको फाइदा उठाउँदै उच्च प्रदर्शन गर्ने लक्ष्य लिएको छ। प्रशिक्षक तामाङले महिला लिग चलिरहेकोले खेलाडीहरू फिटनेसको उत्कृष्ट अवस्थामा रहेको बताए।

    फिफाको अन्तर्राष्ट्रिय विन्डोको अवसर पारेर आयोजित यो प्रतियोगिता एसियन वुमन्स कप क्वालिफायरको तयारीको रूपमा लिइएको छ। म्यानमार, लेबनान र किर्गिस्तानका प्रशिक्षकहरूले पनि यो प्रतियोगिता आगामी चुनौतीहरूको तयारीको लागि महत्वपूर्ण रहेको बताएका छन्।

    दशरथ रंगशालामा हुने खेलमा घरेलु दर्शकको ठूलो उपस्थिति अपेक्षा गरिएको छ। नेपाली टोलीले पहिलो खेलमै जित निकालेर प्रतियोगितामा उत्साहजनक सुरुआत गर्ने लक्ष्य राखेको छ।

    कप्तान एन्जिलाले भनिन्, ‘हामीले साफ च्याम्पियनसिपपछि निरन्तर प्रशिक्षण गरेका छौं, जुन हाम्रो लागि फाइदाजनक बनेको छ। हामी गल्तीहरू सुधार्दै उत्कृष्ट प्रदर्शन गर्नेछौं।’

    युवा स्ट्राइकर सावित्रा भण्डारी (साम्बा) ले आफ्नो प्रदर्शनबाट टिमलाई जित दिलाउने लक्ष्य रहेको बताएकी छिन्। ‘घरेलु दर्शकको हौसलाले हामीलाई थप प्रेरित गर्नेछ,’ उनले भनिन्।

    यो प्रतियोगिता नेपाली खेलप्रेमीहरूका लागि ठूलो उत्सव बनेको छ। फुटबल समर्थकहरूले दशरथ रंगशालामा आफ्नो टिमलाई समर्थन गर्नको लागि व्यापक तयारी गरिरहेका छन्। नेपाली टोलीले घरेलु मैदानको फाइदा उठाउँदै विजयी सुरुआत गर्ने विश्वास गरिएको छ।
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend