काठमाडौं । नेपालमा पहिलो पटक महिला फुटबलको चार राष्ट्र सम्मिलित प्रतियोगिता आयोजना हुँदैछ। सोमबारदेखि शुरु हुने इन्टरनेशनल वुमन्स च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले कीर्गिस्तानसँग आफ्नो पहिलो खेल खेल्दैछ। ६ वर्षपछि नेपाल र कीर्गिस्तान अन्तर्राष्ट्रिय फुटबलमा एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरू हुनेछ। यसअघि दिउँसो २ बजे म्यानमार र लेबनान बीचको खेल हुनेछ।
नेपाली टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले कीर्गिस्तानसँगको खेलमा राम्रो योजना बनाई जितको लक्ष्य राखेका छन्। उनले कीर्गिस्तानको काउन्टर अट्याक र बल पोसेसनमा ध्यान दिनुपर्ने बताए। कीर्गिस्तानको टिम अहिले सुधारिएको र बलियो बनिसकेको छ, जसलाई चुनौतीपूर्ण मानिएको छ। कीर्गिस्तानका प्रशिक्षक नेमाट्जान जाकिरोभले यो प्रतियोगिता आफ्नो टिमका लागि राम्रो अवसर भएको र युनिटी र क्यारेक्टरलाई महत्त्व दिने बताएका छन्। नेपालका लागि यो प्रतियोगिता महिला फुटबलको स्तर उकास्ने र आगामी विश्व कपको तयारीमा महत्वपूर्ण भूमिका खेल्न सक्छ।

