काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन्, जुन मंगलबारदेखि लागू हुने भएको छ। ट्रम्पले सोमबार ह्वाइट हाउसमा घोषणा गर्दै मेक्सिको र क्यानडाबाट आयात गरिने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाइने बताएका छन्, भने चीनबाट आउने सामानमा थप १० प्रतिशत शुल्क लगाइने छ।
यस निर्णयको चीनले कडा विरोध गरेको छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले आफ्नो घरेलु समस्यालाई बहानाका रूपमा प्रयोग गरेको आरोप लगाउँदै तत्काल शुल्क फिर्ता लिन माग गरेको रोयटर्सले जनाएको छ। ट्रम्पको निर्णयपछि अमेरिकी सेयर बजारमा तीव्र गिरावट आएको छ। क्यानडा, मेक्सिको र चीन अमेरिकाका मुख्य व्यापार साझेदार भएकाले यो नयाँ शुल्क व्यापार क्षेत्रमा ठूलो असर पार्ने अनुमान गरिएको छ।

