काठमाडौं । वाणिज्य बैंकहरूले चैत महिनाका लागि लागू हुने ब्याजदर सार्वजनिक गरेका छन्। अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केही बैंकहरूले ब्याजदरमा सामान्य हेरफेर गरेका छन्।
चैत महिनाका लागि ब्याजदर सार्वजनिक गरेको १६ बैंकहरुमध्ये १३ बैंकहरुले फागुन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। फागुन महिनाको तुलनामा दुई बैंकहरुले ब्याजदर घटाएका छन् भने एक बैंकले बढाएको छ।
ब्याजदर घटाउने बैंकहरुमा नेपाल बैंक र हिमालयन बैंक रहेका छन्। नेपाल बैंकले व्यक्तिगत मद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशतविन्दुले घटाएको हो। त्यस्तै, हिमालयन बैंकले भने यस्तो मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.७५ प्रतिशतविन्दुले घटाएको हो।
चैत महिनाका लागि ब्याजदर बढाउने बैंक भने कुमारी बैंक रहेको छ। सो बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.१ प्रतिशतविन्दुले बढाएको हो।
एनआईसी एशिया बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपमा अघिल्लो महिनाकै ब्याजदर कायम राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर तोकेको छ।
नेपाल बैंक लिमिटेडले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागतको ब्याजदर स्थिर राखेको छ। चैत महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.५० प्रतिशत ब्याजदर निर्धारण गरिएको छ, जुन फागुन महिनामा ५.६० प्रतिशत थियो। संस्थागततर्फ ब्याजदर ४.१५ प्रतिशत यथावत् छ।
प्रभु बैंकले व्यक्तिगत तथा संस्थागत दुवै मुद्दती निक्षेपमा अघिल्लो महिनाकै ब्याजदर कायम राखेको छ। व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर प्रदान गरिनेछ।
एभरेस्ट बैंकले ब्याजदरमा कुनै परिवर्तन नगरी व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत निक्षेपमा अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको छ।
सिटिजन्स इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर स्थिर राखेको छ भने संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ। बैंकले व्यक्तिगततर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ, जुन फागुन महिनामा क्रमशः ५.६५ र ५ प्रतिशत थियो।
राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राख्दै व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ३.५ प्रतिशत ब्याजदर कायम गरेको छ।
सानिमा बैंकले ब्याजदरमा कुनै परिवर्तन नगरी व्यक्तिगत मुद्दती निक्षेपमा ६.०५ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ४.३० प्रतिशत ब्याजदर प्रदान गर्नेछ।
प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
नेपाल एसबीआई बैंकले अघिल्लो महिनाको दरलाई निरन्तरता दिँदै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर कायम गरेको छ।
ग्लोबल आइएमई बैंकले ब्याजदर यथावत राख्दै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
सिद्धार्थ बैंकले ब्याजदर परिवर्तन नगरी व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ५ प्रतिशत ब्याजदर कायम गरेको छ।
एनएमबी बैंकले पनि ब्याजदर स्थिर राख्दै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ।
हिमालयन बैंकले ब्याजदर घटाउँदै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.५० प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ। फागुन महिनामा बैंकले व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो।
कृषि विकास बैंकले ब्याजदर यथावत राख्दै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
माछापुच्छ्रे बैंकले ब्याजदर स्थिर राख्दै व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ।
कुमारी बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ भने संस्थागत मुद्दती निक्षेपमा वृद्धि गरेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ५.८१ प्रतिशत र संस्थागततर्फ ५.०१० प्रतिशत ब्याजदर तोकेको छ। फागुन महिनामा व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागततर्फ ४.९१ प्रतिशत ब्याजदर थियो।

