काठमाडौं । सांसदहरूले पटक–पटक हुने विमान दुर्घटना रोक्न छुट्टै निकामक निकाय बनाउन सुझाव दिएका छन् । विमान सुरक्षा जाँच गर्न र दुर्घटनाको छानबिन गर्न फरक निकाय हुनुपर्नेमा सांसदहरूको सुझाव छ ।
नागरिक उड्डयन प्रधिकरणले नै विमान सुरक्षा जाँच गर्ने र उसले नै दुर्घटनाको छानबिन गर्दा स्वार्थको द्वन्द्व रहने सांसदहरूको भनाइ छ । विमानको सुरक्षा जाँच र दुर्घटनाको छानबिन गर्न फरक निकाय हुनुपर्ने धारणा सांसदहरूले बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा राखेका हुन् ।
बैठकमा नेपाली कांग्रेसका सांसद उदयशमशेर राणाले नेपालमा विमान दुर्घटना भएपछि मात्र छानबिन समिति बन्ने र पाइलटलाई दोषी देखाउने गरेको बताए । सांसद प्रेम सुवालले नेपालमा आउने विमानहरू पुरानो भएर दुर्घटना भएको हो कि, भन्ने प्रश्न गर्दै यसको राम्रोसँग छानबिन हुनुपर्ने बताए । उनले बुधबार सौर्य एयरलाइन्सको विमान दुर्घटनामा नेपाल सरकार दोषी भएको बताए ।
रास्वपा सांसद शिशिर खनालले नेपालमा हवाई सुरक्षाको विषय निकै पेचिलो बनेको बताए । पर्यटनमन्त्री बद्री पाण्डेले बुधबार भएको विमान दुर्घटनामा सरकारले छानबिन गरी त्यसको प्रतिवेदनको आधारमा एक्सन लिने बताए ।

