काठमाडौं । इङ्लिस प्रिमियर लिग २०२४र२५ मा लिभरपुलको प्रभावशाली अपराजित यात्रा अन्ततः पूर्णविराममा पुगेको छ। आइतबार राति क्रेभेन कटेजमा घरेलु टोली फुलहामसँग ३–२ को पराजय ब्यहोर्दै लिभरपुल २६ खेलपछि पहिलो पटक हारको चपेटामा पर्यो।
खेलको सुरुवातमै लिभरपुलले अग्रता लिएको थियो। १४ औँ मिनेटमा एलेक्सिस म्याक एलिस्टरले आकर्षक गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। तर फुलहामले त्यसको जवाफ तीव्र गतिमा दियो। २३ औँ मिनेटमा रायन सेसेग्नोनले बराबरी गोल गरे भने, ३२ औँ मिनेटमा एलेक्स इवोबी र ३७ औँ मिनेटमा रोड्रिगो मुनिजको गोलबाट फुलहामले पहिलो हाफमै ३–१ को स्पष्ट अग्रता बनायो।
दोस्रो हाफमा लिभरपुलले दबाब सिर्जना गर्ने प्रयास गर्यो। ७२ औँ मिनेटमा लुइस डियाजले गोल गर्दै खेलमा फर्कने संकेत दिएका थिए। तर बाँकी समयसम्म कुनै थप गोल नहुँदा लिभरपुल हारसँग सम्झौता गर्न बाध्य भयो।
यो पराजयसँगै शीर्ष स्थानका लागि प्रतिस्पर्धा थप चर्किएको छ। लिभरपुलको यो हारले शीर्ष चार क्लबबीचको अंक दूरी घटाउने सम्भावना बढेको छ।

