काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेट प्रतियोगितामा रोयल च्यालेन्जर्स बेंगलुरुले शानदार प्रदर्शन गर्दै मुम्बई इन्डियन्समाथि १२ रनको रोमाञ्चक जित निकालेको छ। सोमबार राति भएको खेलमा बेंगलुरुले २२१ रनको बलियो लक्ष्य दिएकोमा मुम्बईले जवाफमा ९ विकेट गुमाउँदै २०९ रन मात्र बनाउन सक्यो।
अन्तिम ओभरमा मुम्बईलाई २० रन आवश्यक हुँदा बेंगलुरुका क्रुनालले चमत्कारी बलिङ गर्दै ३ विकेट लिएका थिए। उनले आफ्नो ४ ओभरमा ४५ रन खर्चिएर ४ विकेट हात पारे। जोश हेजलवूड र यश दयालले २(२ विकेट लिँदा भुवनेश्वर कुमारले १ विकेट लिए।
टस हारेर पहिले ब्याटिङमा झरेको बेंगलुरुले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २२१ रन बनाएको थियो। विराट कोहलीले ६७ रन तथा कप्तान रजत पाटिदारले ६४ रनको योगदान दिए। जितेश शर्माले १९ बलमा आक्रामक ४० रन नटआउट रहँदा देवदत्त पडिक्कलले ३७ रन बनाए।
यस जितसँगै ४ खेलमा ६ अंक जोडेको बेंगलुरु अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। मुम्बई भने ५ खेलबाट मात्र २ अंक बटुलेको छ र तालिकाको आठौं स्थानमा सीमित छ।

