काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ अन्तर्गत आजको रोमाञ्चक खेलमा पहिलो संस्करणको विजेता काठमाडौं रेजर्स र दुई पटकको उपविजेता धनगढी एफसी भिड्ने भएका छन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ।
दुबै टिमले लिगमा हालसम्म ५ अंक जोडिसकेका छन्। तर धनगढीले एक खेल कम खेलेको र उत्कृष्ट गोलअन्तरका आधारमा तालिकाको तेस्रो स्थानमा रहँदा काठमाडौं चौथो स्थानमा रहेको छ।
काठमाडौंले ४ खेलमा १ जित, २ बराबरी र १ हार ब्यहोरेको छ। पहिलो दुई खेलमा बराबरी खेलेको काठमाडौंले तेस्रो खेलमा पोखरा थण्डर्ससँग पराजय बेहोरेको थियो। चौथो खेलमा बुटवल लुम्बिनीमाथि जित निकाल्दै काठमाडौंले पहिलो जित हात पारेको हो।
धनगढी एफसीले भने पहिलो खेलमै बुटवल लुम्बिनीलाई ४–१ ले पराजित गर्दै शानदार सुरुवात गरेको थियो। यद्यपि, त्यसपछि खेलेका दुई खेलमा ललितपुर सिटी र पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकिएको छ। तीन खेलमा जम्मा १ गोल मात्र खाएको धनगढीको डिफेन्स निकै बलियो देखिएको छ।
लिग तालिकाको शीर्ष स्थानमा रहेको ललितपुर सिटीसँग दुबै टिमको अंक बराबरी गर्ने अवसर रहेको छ। ललितपुरले ४ खेलबाट ८ अंक जोडेको छ।
काठमाडौं र धनगढी दुबै टिममा विदेशी प्रशिक्षक रहेका छन् भने डिफेन्डरहरू नै कप्तानी सम्हालिरहेका छन्। काठमाडौंको कप्तानी कुलदिप कार्कीले गर्दै छन् भने धनगढीको नेतृत्व अनुभवी अनन्त तामाङले सम्हाल्नेछन्।
आजको खेल दुबै टिमका लागि महत्त्वपूर्ण हुने निश्चित छ, जहाँ जितले शीर्ष चारमा पकड बलियो बनाउनेछ।

