काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पहिरो गएको लमजुङको बगुम गाउँको निरीक्षणमा पुगेका छन् । गत असार ११ गते लमजुङको क्व्होलासोथर गाउँपालिका–३ बगुममा गएको पहिरोको निरीक्षण आज (शनिबार) साँझ मन्त्री गुरुङ लगायतको टोलीले निरीक्षण गरेको हो। पहिरोको निरीक्षणपछि सञ्चारमन्त्री गुरुङले पहिरोले पूर्ण क्षति तथा विस्थापित भएका परिवारका घर सरकारले निर्माण गरिदिने प्रतिबद्धता व्यक्त गरे। सरकार बाढी पहिरोलगायत प्राकृतिक विपद्मा परेका नागरिकको रक्षाका लागि सधैँ तयार रहेको उनको भनाइ छ।
सञ्चारमन्त्री गुरुङको गृहपालिका रहेको उक्त स्थानमा गत असार ११ गते राति आएको पहिरोले तीन घर पुरिँदा चार जनाको मृत्यु भएको थियो भने एकजना घाइते भएका थिए। सञ्चारमन्त्री गुरुङले आफूलाई लमजुङे जनताले जिताएर मन्त्री बनाएकाले यहाँका जनताको शिर उच्च बनाउने गरी आफूले काम गर्नेसमेत बताए। पहिरोपीडितले पनि सञ्चारमन्त्री गुरुङले आफूहरूका समस्या समाधानका लागि सहयोग गर्ने अपेक्षा व्यक्त गरेका थिए।

