काठमाडौँ । सरकारी कार्यालय भन्नासाथ तपाइँको दिमागमा के आउँछ ? सरकारी कार्यालय यसै त कुनैपनि कामका लागि दिनभरको माया मारेर जानुपर्ने, फोहोरको थुप्रो, भित्र छिर्नासाथ नाक खुच्याउनुपर्ने अवस्था, कर्मचारीको रुखो बोली÷व्यवहार, छरपस्ट भौतिक संरचना आदि ।
संघीय राजधानी काठमाडौंकै केही सरकारी कार्यालयको अवस्था अझै सुध्रिसकेको छैन । कार्यालय प्रवेश गर्नासाथ परिसरभित्र देखिने अव्यवस्थित पार्किङ, फोहोरसँगै कार्यालयका कर्मचारीको व्यवहारले सेवाग्राहीलाई दिक्क बनाउने अवस्था अझै निर्मूल भइसकेको छैन ।
तर, केही सरकारी मानिने कार्यालय भने निजी क्षेत्रका कार्यालयभन्दा कम छैनन् । कार्यालयको सजावटदेखि कर्मचारीको बोली÷व्यवहार हेर्दा उनीहरू सरकारी कर्मचारी नभएर कुनै प्रतिष्ठित निजी प्रतिष्ठानका कर्मचारी हुन् कि भन्ने महशुस हुन्छ ।
पछिल्लो केही समय यता निकै आकर्षक बनेको छ– नेपाल टेलिकमको सुन्धारा कार्यालय । पहिले झैं परिसरभित्र छिर्नासाथ देखिने फोहोर, कर्मचारीको रुखो व्यवहार, हेर्दै दिक्क लाग्ने कार्यालय अहिले ‘वाउ’ भन्न सकिने भएको छ ।
सीएनएन खबरकर्मी सुन्धारा कार्यालय पुग्दा धेरै परिवर्तन भएको अनुभव भयो । दैनिक हजारौँ मानिसको भिड हुने उक्त कार्यालयमा अहिले प्रवेश द्वारबाट भित्र छिर्दा स–साना फूल र बोट विरुवाले स्वागत गर्छन् । कम्पनीका सेवा सम्बन्धी कुनैपनि जिज्ञासा लिएर त्यहाँ पुग्दा सेवाग्राही निराश हुनुपर्ने अवस्थाको अन्त्य भएको छ ।
यसको सम्पूर्ण श्रेय जान्छ दूरसञ्चार कार्यालय सुन्धाराका कार्यालय प्रमुख दिनेशचन्द्र पन्थीलाई । सुन्धाराको कार्यालय प्रमुखका रुपमा कार्यभार सम्हालेपछि उनले कर्मचारीको क्षमता विकासदेखि कर्पाेरेट कल्चर स्थापित गर्न धेरै मेहनत गरेका छन् ।
मुख्य प्रवेश द्वारबाट भित्र छिर्नासाथ देखियो केन्द्रीय टेलिफोन भवन लेखिएको लोगो र त्यससँगै जेठ महिनामा उत्कृष्ट बनेका कर्मचारीको फोटो । सुन्धारा कार्यालयले कार्यरत झन्डै १ सय जना कर्मचारीमध्येबाट छनौट गरेर प्रत्येक महिना उत्कृष्ट कर्मचारी घोषणा गरेर सम्मान गर्दै आएको छ ।
सय जनाबाट उत्कृष्ट १ छनौट
कर्मचारीको कामलाई सम्मान गर्दै कार्यालय प्रमुख पन्थीकै अगुवाईमा उत्कृष्ट कर्मचारी छनौट तथा सम्मान गरिंदै आएको छ । गत मंसिरदेखि उनले सुन्धारा कार्यालयमा कार्यरत कर्मचारीमध्येबाट उत्कृष्ट १ छनौट गरी सम्मानसँगै एक महिनाभर कार्यालय परिसरमा फोटो राख्ने कामको सुरूवात गरेका हुन् ।
सुन्धारा कार्यालयमा छैटौं तहमा कार्यरत गौतम पोखरेललाई उत्कृष्ट कर्मचारी घोषणा गर्दै उनले उक्त कार्यक्रमको प्रारम्भ गरेका हुन् । दृृष्टीविहीन पोखरेल सेल्स एण्ड मार्केटिङ शाखामा कार्यरत छन् । कार्यालयलाई उत्कृष्ट ग्राहक सेवा केन्द्रका रुपमा स्थापित गर्न यस कार्यक्रमले कर्मचारीहरूलाई उत्प्रेरणा प्रदान गरेको छ ।

गत मंसिरदेखि टेलिकमले कर्मचारीलाई प्रशंसित र उत्साहित राख्ने प्रयास अन्तर्गत उक्त कार्यक्रम घोषणा गरेको हो । सुन्धाराका सबै कर्मचारीहरू यसका लागि योग्य छन् तथापी, ‘एक पटकमा उत्कृष्ट एक’ को अवधारण अनुसार उक्त कार्यक्रम कार्यान्वयनमा ल्याइएको कार्यालय प्रमुख पन्थी बताउँछन् ।
हालसम्म सो कार्यक्रम अन्तरगत गौतम पोखरेलसँगै अर्पणा केसी, शालिक आचार्य, कृृष्ण बहादुर बस्नेत, देविन्द्र श्रेष्ठ, विष्णु गुरुङ, गोविन्द पुडासैनी, संगीता श्रेष्ठ, सन्त बहादुर तामाङ, ध्रुव बहादुर राई सम्मानित भैसकेका छन् ।
कार्यालयले यसका लागि छुट्टै मापदण्ड बनाएको छ । कार्यालयमा कार्यरत सबै विभागका इन्चार्जको सिफारिस, कर्मचारीको आचरण, उनीहरूले महिनाभर गरेका कामका आधारमा छनौट गर्ने गरिएको छ । उत्कृष्ठ ठहरिएका कर्मचारीलाई प्रशंसापत्र, उपहारसहित एक महिनासम्म कार्यालयको रिसेप्सनमा फोटो राखिन्छ ।
यसको साथै विगत लामो समयदेखि कार्यालयमा कर्तव्यनिष्ठ भई काम गर्ने प्राविधिक अधिकृत गोविन्द सिलवाललाई समेत विशेष सम्मान गरिएको थियो ।
ग्राहकको घरमै पुगेर सेवा
सुन्धारा कार्यालयले सेवाग्राहीको घरदैलोमै पुगेर सेवा प्रवाह गर्दै आएको छ । ग्राहकको सजिलोको घरदैलामै पुगी सेवा प्रवाह गर्न सुरू गरिएको पन्थी बताउँछन् ।
गत माघ २० गते एक औपचारिक कार्यक्रमको आयोजना गरी, ‘टेलिकम अन व्हिल’ कार्यक्रम शुभारम्भ गरिएको छ । यसमा सेवाग्राहीको घरदैलो, कार्यस्थल र कार्यालयमै गई आवश्यक सम्पूर्ण सेवाहरु उपलब्ध गराइन्छ । यसबाट ग्राहकसँगै टेलिकमलाई समेत फाइदा पुगेको उनले दाबी गरे ।
यसका लागि छुट्टाछुट्टै ८ वटा समूह बनाइएको छ । उक्त समूहका कर्मचारीहरूले टेलिकमबाट प्रदान हुने सम्पूर्ण सेवाहरू ग्राहकको घरमै पुगेर प्रवाह गर्छन् ।
२४ सै घण्टा सेवा
टेलिकमको सुन्धारा कार्यालयले २४ सै घण्टा सेवा दिने व्यवस्था मिलाएको छ । हरेक कार्य दिनहरुमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म कार्यालय खुल्ला नै रहन्छ भने रातको समयमा ‘अन कल’ ड्युटी राखिएको छ ।
टेलिकमका ग्राहकका गुनासो तथा समस्या सम्बोधनका लागि शनिबार तथा अन्य सार्वजनिक बिदामा समेत कार्यालय खुला हुने गरेको छ । नेपाल टेलिकमका सबै सेवा सुविधा तथा गुनासोको लागी १९८ मा फोन गर्न सकिनेछ ।
सुन्धारा कार्यालयले ‘केन्द्रीय टेलिफोन भवन’ को ब्राण्डिङ समेत गरेको छ । ‘दूरसञ्चार सेवा प्रवाह गर्ने सबभन्दा पुरानो र ठूलो एक्सचेञ्जका रुपमा रहेको सुन्धारामा पहिला अर्कै भवन थियो, अहिले त्यो भवन त छैन । हामीले त्यति बेलाको लोगो चाहिं खोजेर अहिले ब्राण्डिङ गर्न लागेका हौँ’, उनले भने ।
यस्तै, कर्मचारीको क्षमता अभिवृद्धिका लागि कार्यालयले महिनाको २ वटा शुक्रबार काउन्सिलिङ कक्षा सञ्चालन गर्दै आएको छ ।
कर्मचारीलाई समय समयमा तालिम तथा सेमिनारको आयोजना गरेर रिफ्रेसमेन्ट गर्ने गरिएको छ । यस्तै, कार्यालयले वर्क स्टेशनलाई समेत बदलेको गरेको छ । कार्यालय भित्र पस्नासाथ कुनै निजी कम्पनीमा गएको अनुभूत हुनेगरी डेकोरेशन चेन्ज गरिएको प्रमुख पन्थीले बताए ।
लिफ्टमा दुुर्गमका जिल्लामा रहेका टेलिकमका टावरदेखिका जानकारीहरू राखिएको छ । ग्राहकलाई गर्ने व्यवहार राम्रो बनाउन कर्मचारीलाई आह्वान गरिएको छ ।

शुरूवाती चरणमा रिसेप्सन, कर्पाेरेट तथा सेल्स शाखा तथा अन्य शाखाको मर्मत सम्भार सकेको कार्यालयले साउन लागेपछि सेल्स काउन्टरको मर्मत सम्भार गर्ने तयारी थालेको छ ।
‘हामीले यसअघि अन्य शाखाको सजावट गरेका थियौँ । यसै महिनादेखि ग्राहक सेवा केन्द्रको मर्मतर सजावटको काम शुरू गर्दैछौँ । सेवाग्राहीको धेरै भिड लाग्ने ग्राहक सेवा केन्द्र आकर्षका डिजाइनमा मर्मतसम्भारको तयारी गरेका छाँै’, पन्थीले भने ।
उनले कार्यालयमा आउने सेवाग्राहीको सजिलोको लागी केही मोबाइल कम्पनीका डेमो काउन्टर समेत सुन्धारा कार्यालयमा राख्ने योजना रहेको बताए ।
‘हामी सेल्स काउन्टरको मर्मत सक्छौँ । त्यसपछि केही मुख्य ब्राण्डका मोबाइल कम्पनीका सेवा काउन्टरहरू यहाँ ल्याउने योजनामा छाँ । यसको मुख्य उद्देश्य भनेको टेलिकमका ग्राहकलाई आवश्यक सम्पूर्ण सम्बन्धित सेवाहरु एकै स्थानबाट प्रदान गर्नु पनि हो’, पन्थीले भने ।
समग्रमा हेर्दा, नेपाल टेलिकमको सुन्धारा कार्यालय ग्राहकमुखी तथा सेवामैत्री बन्दै गएको छ । यस कार्यालय नमूना सरकारी कार्यालयको एक उदाहरण बनेको छ । यस कार्यालयले जस्तै अन्य सरकारी कार्यालयले पनि आफ्नो संरचना, सेवा प्रवाह, कर्मचारी उत्प्रेरणा तथा सेवा समय मा सुधार गरी सरकारी संघसंस्था तथा कम्पनीहरुको विश्वसनीयता बढाउनु अहिलेको आवश्यकता हो ।

