काठमाडौं । लिभरपुलले टोटनह्याम हट्सपरलाई ५–१ को फराकिलो अन्तरले पराजित गर्दै इङलिस प्रिमियर लिगको २० औँ उपाधि जितेको छ। आइतबार राति एनफिल्डमा सम्पन्न खेलमा शानदार जित निकाल्दै लिभरपुलले चार खेल बाँकी छँदै उपाधि आफ्नो पक्षमा पारेको हो।
यो जितसँगै लिभरपुल इङल्यान्डको इतिहासमा २० पटक लिग च्याम्पियन बन्ने म्यानचेस्टर युनाइटेडसँग बराबरीमा पुगेको छ। सन् १९९२/९३ मा आधुनिक प्रिमियर लिग सुरु भएयता लिभरपुलले दोस्रो पटक उपाधि जितेको हो।
खेलको १२ औँ मिनेटमा टोटनह्यामका लागि डोमिनिक सोलान्केले गोल गर्दै अग्रता दिलाए पनि त्यसपछि खेल लिभरपुलको नियन्त्रणमा रह्यो। लुइस डियाजले १६ औँ मिनेटमा बराबरी गोल गरे। त्यसपछि एलेक्सिस म्याक एलिस्टर (२४ु), कोडी गाक्पो (३४ु), मोहम्मद सलाह (६३ु) तथा डेस्टिनी उडोगीको आत्मघाति गोल (६९ु) को मद्दतले लिभरपुलले ५–१ को फराकिलो जित निकाल्यो।
३४ खेल खेलेको लिभरपुलले २५ जित, ७ बराबरी र २ हारसहित ८२ अंक जोड्दै लिग तालिकाको शीर्षस्थान सुरक्षित गरेको हो। दोस्रो स्थानको आर्सनलसँग ६७ अंक मात्रै रहेकाले उपाधिको होडबाट बाहिरिएको छ।

