काठमाडौं । संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । सोमबार बिहान सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको संयन्त्रको बैठक आगामी बिहीबार बस्नेगरी सकिएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा कार्यदलका सदस्य नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा सहभागी थिए ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया, संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति बिमला सुवेदी, महान्याधिवक्ता रमेश बडाललगायतको पनि सहभागिता थियो ।
बैठकपछि कार्यदल सदस्य बर्तौलाले आगामी बिहीबार फेरि बैठक बस्नेगरी आजको बैठक सकिएको बताए । अहिलेसम्म भएका छलफलको मस्यौदा तयार पारेर त्यसमाथि आगामी दिनमा छलफल केन्द्रीत गर्ने उनको भनाइ छ ।

