काठमाडौं । १४ वर्षीय किशोर क्रिकेटर वैभव सूर्यवंशीले इन्डियन प्रिमियर लिग (आईपीएल) मा ऐतिहासिक प्रदर्शन गर्दै शतक प्रहार गरेपछि राजस्थान रोयल्सले गुजरात टाइटन्सलाई ८ विकेटले पराजित गरेको छ।
गुजरातले दिएको २१० रनको लक्ष्य राजस्थानले २५ बल अगावै २ विकेटको क्षतिमा भेट्टायो। जितको नायक बने वैभव, जसले ३८ बलमा ७ चौका र ११ छक्का सहित १०१ रनको कीर्तिमानी पारी खेले। उनी आईपीएल इतिहासमा शतक बनाउने सबैभन्दा कान्छा खेलाडी बन्न सफल भएका छन्।
राजस्थानका अर्का ओपनर यसश्वी जैसवाल ७० रनमा अविजित रहे। उनले ४० बलमा ९ चौका र २ छक्का प्रहार गरे। कप्तान रियान परागले पनि ३२ रनमा नटआउट रहेर टोलीलाई सहज जित दिलाए। नितिश राना ४ रनमा आउट भए।
त्यसअघि टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेटको क्षतिमा २१० रन बनाएको थियो। कप्तान शुभमन गिलले ८४ रन बनाए भने जस बटलर ५० रनमा अविजित रहे। साइ सुदर्शनले ३९ रनको योगदान दिए।
यस जितसँगै राजस्थान रोयल्सले ६ अंक बनाएको छ र आठौँ स्थानमा छ। गुजरात टाइटन्स भने १२ अंकका साथ तेस्रो स्थानमा यथावत् छ। रोयल च्यालेन्जर्स बैंगलोर १४ अंकसहित शीर्ष स्थानमा रहँदा मुम्बई इण्डियन्स दोस्रो स्थानमा छ।

