काठमाडौँ । भारतको ओडिसा राज्य सरकारले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेको घटनाबारे छानबिन सुरु भएको छ ।
स्थानीय प्रहरीलाई बिहीबार राति ८ः१० बजे घटनाबारे जानकारी आएको र लगत्तै प्रहरी आयुक्त र राजस्व डिभिजनल कमिश्नर लगायतका वरिष्ठ अधिकारीहरु घटनाको कारणबारे सोधपुछ र अनुसन्धानमा जुटेको ओडिसाको मौलिक तथा जनसम्पर्क विभागले एक विज्ञप्तिमार्फत जानकारी दिएको हो ।
उक्त विश्वविद्यालयको स्नातक तह प्रथम वर्षमा अध्ययनरत नेपाली छात्रा वीरगन्जकी प्रिसा साह बिहीबार साँझ फेला परेकी हुन् । उनको शव कलेज होस्टेलमा फेला परेको थियो ।
यसअघि सोही कलेजमा अध्ययनरत वुटवलकी प्रकृति लम्सालले ४ फागुनमा आत्महत्या गरेकी थिइन् । कलेजकै एक बिद्यार्थीले यातना दिएको र त्यसको विषयमा कलेजले सुनुवाई नगरेको भन्दै सो घटनापछि कलेजमा आन्दोलन समेत भएको थियो ।
परराष्ट्रले थाल्यो कूटनीतिक पहल
केआईआईटीमा अर्की नेपाली विद्यार्थी प्रिसा साह मृत फेला परेपछि परराष्ट्र मन्त्रालयले छानबिनका लागि कूटनीतिक पहल थालेको छ ।
परराष्ट्रमन्त्री आरजु राणा देउवाले हिजो नै भारत सरकार, ओडिसा सरकारका उच्च अधिकारीहरू र दिल्लीस्थित नेपाली दूतावास मार्फत घटनाको सत्य तथ्य छानबिन गर्न कूटनीतिक पहल थालेको जानकारी दिएकी छिन् ।

