काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोली हङकङ विरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसियाली कप २०२७ छनोट खेलको पहिलो चरणको तयारी गर्न मनाङ पुगेको छ।
६ दिनको बन्द प्रशिक्षणका लागि नेपाली खेलाडीहरू बिहीबार लमजुङ पुगेका थिए। त्यहाँबाट नेपाली टोली मनाङ पुगेको हो। राष्ट्रिय पुरूष टोलीका मुख्य प्रशिक्षक म्याट रसले लमजुङ पुगेपछि बिहीबार खेलाडीहरूलाई हङकङ र लाओसविरूद्धको तयारी मनाङमा गर्न लागेको विषयमा ब्रिफिङ गरेका थिए।
'यो बन्द प्रशिक्षणको आजबाट यात्रा सुरु भएको छ। हामी पहिलो पटक यस्तो अल्टिच्युटमा बन्द प्रशिक्षण सञ्चालन गरिरहेका छौ। सबैले आफूलाई प्रमाणित गर्नु पर्नेछ। हामीले शून्यबाट तयारी सुरु गर्दैछौ,' रसले भने, 'मनाङमा तयारी गर्दा हामी अझ बलियो हुनेछौं। मनाङमा बढी रेडब्लड सेल्स बनाउनेछौं । जसले गर्दा अक्सिजन बोक्ने क्षमतामा सुधार गर्छ।'
मनाङको बन्द प्रशिक्षण विषेशगरी एन्डुरेन्स र फिटनेसमा केन्द्रीत हुनेछ। बन्द प्रशिक्षणमा प्रारम्भिक टोलीमा रहेका ३० खेलाडी सहभागी छन्। नेपाल र हङकङबीच आगामी जुन ५ (जेठ २२) मा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ। खेल हङकङको घरेलु मैदानमा हुनेछ। यो खेल फिफा विन्डोमा हुन लागेकाले आधिकारिक अन्तर्राष्ट्रिय मान्यता प्राप्त खेल हुनेछ। नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो।
सो खेल नेपालले हङकङसँग खेलेको एक मात्र औपचारिक खेल हो। हङकङमा भएको उक्त खेल गोलरहित बराबरीमा सकिएको थियो। हाल हङकङ फिफा वरीयतामा १५३औं स्थानमा छ भने नेपाल १७५औं स्थानमा रहेको छ। नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गरेको पाँच दिनपछि जेठ २७ मा नेपालले एफसी एसियन कप छनोटको खेलमा लाओससँग खेल्नेछ।
लाओससँगको मैदानमा हुने खेल नेपालले एसियन कप छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा लागेको दोस्रो खेल हो। यसअघि छनोटको पहिलो खेलमा नेपालले मलेसियासँग २-० गोलको हार ब्यहोरेको थियो।
प्रारम्भिक टोलीः
किरण चेम्जोङ (गोलकिपर),मनिष डाँगी, अञ्जन विष्ट,अनन्त तामाङ,अभिषेक लिम्बु, अमृत श्रेष्ठ, अञ्जल श्रेष्ठ, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दीप कार्की (गोलकिपर), जिलेस्पीजंग कार्की,कृतिश छुन्जु, कुलदिप कार्की, कुशल देउवा, लकेन लिम्बू, मणिकुमार लामा, निराजन धामी, रोहन कार्की, रोहित चन्द, सनिश श्रेष्ठ, सन्तोष खत्री, सृजन राज, सुदीप गुरुङ, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुरज ज्यू ठकुरी, सुवास ठकुरी बम, योगेश गुरुङ ।

